काठमाडौं। पर्याप्त बजेट नहुँदा पूर्वी लमजुङको निर्माणाधीन ‘लिपेलेक’ चक्रीय पदमार्ग निर्माण कार्य रोकिएको छ। लमजुङको दोर्दी र दूधपोखरी गाउँपालिकाका विभिन्न क्षेत्रलाई समेटेर चक्रीय पदमार्ग निर्माण शुरू गरिएको थियो।
तीन वर्षअघि निर्माण शुरु भएको लिपेलेक चक्रीय पदमार्गको ट्रयाक निर्माण कार्य यस वर्ष सक्ने लक्ष्य राखिएको भए पनि बजेट अभावका कारण काम रोकिएको हो। सो पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा १५ लाख रुपियाँ बजेट बिनियोजन गरेको थियो। आर्थिक वर्ष ०७६/७७ मा पुनः ४० लाख बजेट विनियोजन गरेको थियो। आर्थिक वर्ष ०७७/७८ मा सो पदमार्ग निर्माणका लागि प्रदेश सरकारले थप २० लाख रुपियाँ उपलब्ध गराएको थियो। सोही रकमबाट दोर्दीको मश्रुदेखि धौथलीसम्म १ हजार ५ सय मिटर पदमार्ग निर्माण भएको छ।
लिपेलेकसहित अन्य पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्नका निम्ति चक्रीय पदमार्ग निर्माण शुरु भएको थियो। करिब २२ किलोमिटर पदमार्गअन्तर्गत केही ठाउँमा यसअघि नै सडक ट्रयाक रहेको र केही नयाँ ट्रयाक खोलिएकाले अब करिब ३ किलोमिटर मात्रै पदमार्ग निर्माण गर्न बाँकी रहेको जनाइएको छ।दोर्दीको नौथर शेराबाट शुरु गरिएको सो चक्रीय पदमार्ग दोर्दीकै श्रीभञ्ज्याङ, दूधपोखरीको ओखरी, गौडा, जोर्ने, इलमपोखरी हुँदै पुनः दूधपोखरीकै गौथली, टउ, रप्रो, दाम्राङ हुँदै नौथर शेरामा टुंगिने योजना रहेको छ।
लिपेलेकसहितको सो क्षेत्र धार्मिक, ऐतिहासिक र प्राकृतिक रूपमा निकै सुन्दर भएकाले स्वदेशी तथा विदेशी आकर्षित हुने प्रवद्र्धकहरुको विश्वास रहेको छ। यसैगरी सडक पहुँचका कारण ओझेलमा पर्दै गएको अन्नपूर्ण पदमार्गको विकल्पका रूपमा उक्त पदमार्गलाई प्रवद्र्धन गर्न सके निकट भविष्यमा पर्यटक भित्राउन सकिने पर्यटन व्यवसायीहरुले जानकारी दिएका छन्।
सो पदमार्गबाट ८ हजार मिटर उचाइका मनास्लु र अन्नपूर्ण हिमाल नजिकबाट हेर्न सकिने र पहाड तथा तराईका विभिन्न रमणीय दृश्य देख्न पाइने साथै, इलमपोखरी, दूधपोखरी जस्ता पवित्रधाम, बाटोमा पर्ने गुरुङ समुदायको संस्कृतिसमेत अवलोकन गर्न सकिने जनाइएको छ।