काठमाडौँ। महाकाली करिडोर अन्तर्गत दार्चुला–तिङ्कर सडकमा ७५० मिटर ट्रयाक खुलेको छ। सरकारले सेनालाई ७५ किमी ट्रयाक खोल्न जिम्मेवारी दिएकोमा गत मंसिर मसान्तसम्ममा चार मिटर चौडाइको सो सडक खुलाइएको हो।
महाकाली नदी किनारै किनार र केही भित्री भाग हुँदै निर्माण हुने उक्त सडक निर्माणले स्थानीयवासीको जनजीवन सजिलो हुने आशा गरिएको छ। सरकारले गत वर्ष वैशाख १४ गतेको मन्त्रिपरिषद् निर्णयानुसार कोठेघर–तिङ्कर सडक सेनालाई दिएको थियो।
सुरुमा लम्बाइ ८७ किमी रहेकोमा सर्वेक्षणपछि ७५ किमी मात्रै भएको सेनाको विकास निर्माण निर्देशनालयका प्राविधिक सहायक रथी कमलविक्रम शाहले बताए।
दार्चुला सदरमुकाम खलङ्गाबाट ४० किमीमाथि सुनसरा र ६० किमीमाथि पर्ने दुम्लिङमा क्याम्प निर्माण भइसकेको निर्देशनालयले जनाएको छ। कोठेधारदेखि दुम्लिङसम्म पाँच ठाउँमा ‘कम्प्रेशर मेसिन’ प्रयोग गरी सडक खोल्ने काम भइरहेको प्राविधिक सहायक रथी शाहले बताए।
उक्त स्थानहरुमा माल गाउँमा दुई, सक्नेरीमा एक, फुल्सिङमा एक र दुम्लिङमा एक रहेको छ। सडक रेखांकन महाकाली नदीको किनारमा भएकाले अधिकांश स्थानमा ब्लाष्टिङ गर्दा ढुङ्गाको टुक्रा सीमापारी जानु समस्याका रुपमा रहेको उनले जानकारी दिए।
तीन किमी ट्र्याक खोलिएकामा बाँकी चार किमी सडकको ट्रयाक खोल्न नेपाली सेनालाई नै दिँदा काम चाँडो गर्न सकिने प्राविधिक सहायक रथी शाहले बताए। तुसारपानीबाट कोठेधारसम्मको खण्डमा ट्रयाक खोल्न बाँकी हुँदा सेनालाई आवश्यक सामग्री र बन्दोबस्तीका सामान ढुवानीमा गाह्रो भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले ब्रम्हदेबदेखि तिङ्करसम्म ४२५ किमी सडकमा ८७ किमी सेनालाई दिइएको बताए। सेनाले काम गरिरहेको बाहेक बाँकी खण्डमा विभागले ठेक्कामार्फत सडक निर्माण अघि बढाएको छ।
विभागले निर्माण गरिरहेको सडक सेनालाई ८७ किमी काम गर्न पनि पहुँचमार्ग भएको र अहिलेसम्म त्यो नसकिँदा सेनालाई काममा बाधा पुगेको उनले बताए। सेना आफैले ट्रयाक खोल्दा चाँडो हुने भएकाले अहिले ठेक्का तोडेर सेनालाई जिम्मेवारी दिन लागिएको छ।
सडक विभागले कम्तीमा सात मिटर चौडाइ बनाएपछि सेनाले निर्माण गरिरहेका सडकमा चौडाइ कम रहेको पाइन्छ। सेनाले सडक निर्माण सकाएर गाडी गुड्न थालेपछि विस्तार यातायात अवरुद्ध गर्नुपर्ने हुँदा गाह्रो हुने उनले बताए। उनले भने, सेनाले नै ट्रयाक खोलेका पाँच छ मिटर चौडाइमा अहिले विभागले सात मिटरमा विस्तार गरिरहेको छ।