महोत्तरी। रामसीताको विवाहमा वेदी बनाउन माटो खनिएको महोत्तरीको ‘मटिहानी’ लाई धार्मिक पर्यटकी क्षेत्रको रुपमा परिचित बनाउन मटिहानी नगरपालिका लागि परेको छ। आवश्यक विकास निर्माण तथा सजिसजाउमा नगर तीव्र गतिमा लागि परेको हो।
मटिहानी त्रेता युगकालीन रामसीताको विवाहसँग विधि जोडिएको ठाउँ मानिन्छ। यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि मटिहानी–जनकपुरधाम जोड्ने रामजानकीपथ र मटिहानी–जलेश्वर जोड्ने सडकको नगर सीमामा स्वागतद्वार बनाइएको छ।
यी दुवै स्वागतद्वारले सर्वसाधारण यात्रीलाई ‘अब मटिहानी प्रवेश गरिएछ’ भन्ने भाव दिने र ठाउँबारे थप चासो बढाउन प्रेरित गर्ने नगर प्रमुख हरिप्रसाद मण्डलले बताए।
मटिहानी–७ स्थित लक्ष्मीसागर रामसीताको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँ मानिन्छ। त्यसैगरी विवाहपछि बिहार गर्दै मिथिलाका विभिन्न क्षेत्रमा पुगेका रामसीताको जोडी मटिहानी पुगेर बास बसेको विश्वासमा अहिले १५ दिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीले चौथो दिनको रात्रि विश्राम यहाँ गर्दै आएका छन्। यस आस्थासँग जोडेर धार्मिक पर्यटन बढाउन लक्ष्मीसागरको वरपर मनोरम घाट निर्माण, आकर्षक घेराको व्यवस्था र प्रत्येक बिहीबार साँझ लक्ष्मीनारायण महाआरती थालिएको नगरप्रमुख मण्डलको भनाइ छ।
धार्मिक पर्यटनसँग जोडेर नगरमा यीबाहेक लक्ष्मीसागरकै छेउमा दुर्गा मन्दिर, बजारचोकमा ५१ फिट अग्लो घण्टाघर र अत्याधुनिक अतिथिगृह निर्माण भएका छन्। घण्टाघर चढेर मटिहानी अवलोकन गर्ने आगन्तुकको सोख बढ्दो देखिएको मटिहानी–७ का स्थानीय बताउँछन्। मटिहानी आइपुग्ने सबैजसो विशिष्ट अतिथिले नवनिर्मित अतिथिगृहमा विश्राम गरेर आनन्द लिने गरेको नगरप्रमुख मण्डलले जानकारी दिए।
नगरको धार्मिक महत्व अझ उजागर गर्न लक्ष्मीनारायण मठसँगैको चभचा पोखरीको सौन्दर्य अभिवृद्धिका लागि नगरपालिकाले काम थालेको छ। आधुनिक घाट, उद्यानसहितका संरचना निर्माण गरेर चभचा पोखरी अवलोकन गर्नैपर्ने स्थान रहेको पर्यटकलाई महसुस गराउने अपेक्षाका साथ काम थालिएको मण्डलको भनाइ छ। धार्मिक पर्यटनसँग जोड्दा यीबाहेक वडा नं ६ स्थित पासवान जातिका कूलदेवता राजा सलहेशको मन्दिर, ७ स्थित राघोबाबा मन्दिर र ८ स्थित प्रतापी थान मन्दिरलाई पनि मटिहानीबासी छुटाउँदैनन्। नगरपालिकाले यी सबै धार्मिक सम्पदाको निरन्तर संरक्षण, सम्वद्र्धनको जिम्मेवारी लिएको नगर प्रमुख मण्डल बताउँछन्।