काठमाडौं। सुनकोसी–३ जलाशय जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन क्षेत्र निर्धारण गर्न सुझाव माग गरिएको छ। बागमती प्रदेशमा निर्माण गर्न लागिएको ६८३ मेगावाटको जलविद्युत आयोजनाको क्षेत्राधिकार निर्धाण गर्न विद्युत विकास विभागले सरोकारवालासँग सुझाव मागेको हो।
स्थानीय सरोकारवालासँग आयोजना निर्माण गर्दा पर्न सक्ने भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणीय प्रभावका सम्बन्धमा रायसुझाव मागिएको छ। प्रस्तावित आयोजनाबाट प्रभावित हुने गाउँपालिका, नगरपालिका, तथा त्यहाँका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी एवं सरोकारवाला व्यक्तिसँग एक साताभित्र प्राप्त हुने गरी रायसुझाव पढाउन माग गरिएको छ।
आयोजनाबाट सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुली प्रभावित हुनेछन्। सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका, बलेफी गाउँपालिका, चौतारा साागाचोकगढी नगरपालिका, इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाका स्थानीयसँग सुझाव माग गरिएको छ।
त्यसैगरी काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिका, पाँचखाल नगरपालिका, भुम्लस गाउँपालिका, चौरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिकाका विभिन्न वडा प्रभावित हुने देखिएको छ।
रोमछापको खाडाँदेवी गाउँपालिका र सुनापाती गाउँपालिका तथा सिन्धुलीको सुनकोसी गाउँपालिकाको विभिन्न वडा प्रभावित हुन सक्ने देखिएको विभागले जनाएको छ। पालिका अन्तर्गतका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी एवं सरोकारवाला व्यक्तिसँग रायसुझाव पढाउन भनिएको छ।