काठमाण्डौं। वालिङ नगरपालिकाले निर्माण गरेको लेदो व्यवस्थापन प्लान्ट सञ्चालनमा आएको छ। दिसाजन्य लेदो व्यवस्थापन सहरी क्षेत्रमा चुनौतिकोरुपमा देखापरिरहेका बेला वालिङमा त्यसको व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याइएको हो।
घर–घरमा रहेका सेफ्टी ट्याङ्की भरिएपछि बाहिरी खुल्ला ठाउँमा लगेर आफूखुसी फाल्ने गरेका कारण ढल, खोलानाला तथा पानीका स्रोत प्रदूषित हुन गएकाले त्यसको उचित व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ।
“घरमा रहेका सेफ्टी ट्याङ्की दिसाजन्य लेदो भण्डारण गर्ने ट्याङ्की मात्रै हुन्, त्यो भरिएपछि फाल्नका लागि समस्या थियो। अब नगरपालिकाले सञ्चालनमा ल्याएको प्लान्टमा सस्तो र सहजरुपमा व्यवस्थापन गर्न सकिने भएको छ।” नगरपालिकाले सञ्चालन गरेको प्लान्टबाट बायोग्यास र कम्पोष्ट मल बनाउनुका साथै त्यहाँबाट निस्केको पानीलाई प्रशोधन गरेर पुनः प्रयोग गर्न मिल्ने बनाइएको छ।
सञ्चालनमा आएको उक्त प्लान्ट एकीकृत फोहरमैला व्यवस्थापनका क्षेत्रमा नगरपालिका स्तरमा नेपालकै पहिलो हो।
दिसापिसाबको व्यवस्थित सङ्कलनदेखि सुरक्षित विसर्जनसम्मको चरणबद्ध प्रक्रिया सरसफाइ प्रणाली हो। यो प्रणालीअन्तर्गत सङ्कलन, भण्डारण, रित्याउने र ढुवानी गर्ने, प्रशोधन र पुनः प्रयोग वा सुरक्षित विसर्जन रहेको वालिङ नगरपालिकाका इञ्जिनीयर दीपेन्द्र मल्लले बताए।
नगरपालिकालाई छ हजार ५०० शुल्क तिरेपछि ट्याङ्की खाली गरिदिने गरेको इञ्निनियर मल्लले बताए। घर–घरमा निर्माण भएका सेफ्टी ट्याङ्की खाल्डो भरिएपछि खाली जमिन, खेतबारी, जङ्गलमा ट्याङ्करमार्फत विसर्जन गरिँदै आएकामा प्लान्ट सञ्चालनमा आएसँगै थप व्यवस्थित भएको इञ्जिनीयर मल्लले बताए।