काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले नारायणहिटी दरबार संग्राहालयमा रेस्टुरेन्ट खोल्ने विषयमा आफू संलग्न नभएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत भट्टराईले नारायणहिटी परिसरभित्र रेस्टुरेन्ट खोलिने विषयमा आफूमाथि आरोप लगाइएर आएका समाचारमा सत्यता नभएको बताएका हुन्।
उनले लेखेका छन्, ‘नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। त्यस सम्बन्धि कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु साथै त्यस बारेका कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सबिनय अनुरोध गर्दछु।’
भट्टराईले आफू संलग्न नभएको काममा जवाफदेहीता नरहेको भन्दै बिना कसुर सार्वजनिक छबीमा आँच आउने समाचार र टिप्पणी नगर्न समेत अनुरोध गरेका छन्।
उनले सत्य तथ्य छानबिन गरेर आफू संलग्न भएको कुनै पनि प्रमाण लिएर आउन चुनौती समेत दिएका छन्। पूर्व पर्यटनमन्त्री समेत बनिसकेका भट्टराईले लेखेका छन्, ‘मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनैती दिन्छु।स्मरणरहोस म मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो।'
नारायणहिटी परिसरमा रेस्टुरेन्ट निर्माण भइरहेको समाचारसँगै तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा भट्टराईले सो जग्गा भाडामा दिएको आरोप लागेको छ।
यस विषयमा विवाद आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रेस्टुरेण्ट निर्माण गर्ने कार्य रोक्न निर्देशन दिएका छन्।मन्त्री आलेको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले बी. म्यानेजमेन्ट प्रालिलाई निर्माण कार्य रोक्न भनी पत्र पठाएको छ।