काठमाडौं। बाजुराको सदरमुकाम मार्तडीमा खेल मैदान निर्माण गर्न उपयुक्त जग्गा खोजीका लागि गठन गरिएको टोलीले सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। बडीमालिका नगरपालिकाले मार्तडीभित्र खेल मैदान निर्माणका लागि उपयुक्त जग्गा खोज्न बनाएको सम्भाव्यता अध्ययन टोलीले बाउली र गणखेतमा रहेका जग्गाको सम्भाव्यता अध्ययन गरेको थियो।
सम्भाव्यता अध्ययन टोलीले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा मार्तडीको बाउली र गणखेतको जग्गा खेल मैदान निर्माणका लागि उपयुक्त रहेको उल्लेख गरिएको छ। यसैगरी उक्त खेल मैदानका लागि बाउलीको भौगोलिक अवस्था, सरकारी जग्गा रहेकाले अधिग्रहण गर्नु नपर्ने, बाउली खोलाको नजिकै जोखिम क्षेत्र बढी भएकाले जोखिम न्यूनीकरणका लागि आर्थिक लागत बढी हुने, भविष्यमा आवश्यकताबमोजिम थप खेल मैदान सरकारी जग्गामै निर्माण गर्न सकिने सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, गणखेत क्षेत्रमा भौगोलिक अवस्था, सरकारी जग्गा नभई खेतीयोग्य जग्गा रहेकोले अधिग्रहण गर्नुपर्ने, खेतीयोग्य जग्गा भएकाले जोखिम क्षेत्र कम रहेको, जग्गा खरिद गर्दा आर्थिक रूपमा महँगो पर्ने प्रतिवेदनमा उल्लेख छ।
नगरपालिकाले खेल मैदानका लागि उपयुक्त रहेको गणखेतका जग्गाधनीलाई २१ पुसमा नगरपालिकामा बोलाएर छलफल गर्ने भएको छ। उक्त छलफलमा जग्गाधनीले खेल मैदानका लागि जग्गा दिन तयार भए गणखेतमा खेल मैदान बनाउने निर्णय हुने बडीमालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारले सदरमुकाम मार्तडीमा खेल मैदान निर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीमा उपयुक्त जग्गा उपलव्ध गराएपछि खेल मैदान निर्माण अघि बढाइने योजना रहेको जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ। खेल मैदान अभावकै कारण त्यहाँका खेलाडीले आफ्नो प्रतिभा देखाउन नपाएको साथै सदरमुकाममा आयोजना गर्ने खेलकुदका कार्यक्रम सञ्चालन गर्न बाजुरा क्याम्पस र मालिका माविको मैदान प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।