काभ्रेपलाञ्चोक। ६३६ मेगावाट क्षमताको सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना निर्माणका लागि साढे एक खर्ब बढी लाग्ने अनुमान गरिएको छ। विद्युत् विकास विभागले गरेको सम्भाव्यता अध्ययनबाट यस आयोजनाका लागि एक खर्ब ६० अर्ब लागत लाग्ने अनुमान गरिएको हो।
आयोजनाको सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको पनि विभागले जनाएको छ। आयोजनाको ‘डिजाइन ड्रइङ’, भौगर्भिक सर्भे, टोपोग्राफी सर्भे, योजनाको लागत अनुमान, वातावरणीय प्रभाव मूल्याङ्कन तथा जैविक, आर्थिक र सामाजिक अध्ययन गरी मस्यौदा प्रतिवेदनको तयारी सकिएको छ।
सम्भाव्यता अध्ययनको काम सकेर योजनाबाट प्रभावित हुने जिल्लाका स्थानीय तहलाई मस्यौदा प्रतिवेदनमा छुटेका तथा स्थानीय तहले दिनुपर्ने राय–सुझावका लागि पत्राचार गरिएको विभागले जनाएको छ।
प्रतिवेदनमाथि रामेछापको खाँडादेवी र सुनापति गाउँपालिका तथा सिन्धुलीको सुनकोशी गाउँपालिकाले राय–सुझाव दिनुपर्नेछ। स्थानीय तहको राय–सुझावपछि प्रतिवेदन स्वीकृतका लागि वन तथा वातावरण मन्त्रालयमा पठाइने छ ।
उक्त आयोजनाका लागि सरकारले गत भदौ अन्तिमसाता बङ्गलादेशलाई प्रस्ताव गरेपछि आउँदो डिसेम्बरमा दुवै पक्षबीच आयोजना निर्माणस्थल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीअन्तर्गत काभ्रेपलाञ्चोक र रामेछाप क्षेत्रको भ्रमणको सहमति समेत भएको थियो। आयोजनाको प्रक्रिया अघि बढाउन गत भदौ २९ गते नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बैठकले सुनकोशी तेस्रो निर्माण गर्न दिने प्रस्ताव अनुमोदन भएको हो।