भगीरथ भण्डारी
इलाम। माङसेबुङ गाउँपालिकाको इभाङ–चतुरे सडक खण्डको निर्माणाधीन कालोपत्रे सडक बर्खानै नलागि भत्किएको छ । माङसेबुङ–२ स्थित तिखेगोलाई देखि माङसेबुङ–३ स्थित चतुरेमोडसम्मको निर्माणधिन सडक बर्खा नै नलागि भत्किएको हो।
सडक निर्माणमा कमसल ढुंगा, गिट्टी र बालुवा प्रयोग गरिएकाले गुणस्तरहीन भएपछि भत्किएको स्थानीयको गुनासो छ। निर्माण कम्पनी कालिका÷गजुरमुखी जेभीले निर्माण गरिरहेको १३।२७९ किलोमिटर सडक खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्। ठेकेदारले लापरवाही गरेको भन्दै स्थानीय आक्रोशित भएका छन्।
मापदण्डअनुसार सामग्री प्रयोग नगरेको, क्युरिङ नगरिएको, मापदण्ड अनुसार सिमेन्ट र वालुवा प्रयोग नगरिएको आदि कारण पहिलो वर्षातमा नै पुरै भत्किएको स्थानीय तिलकबहादुर कार्की बताउँछन्। निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरवाहीले निर्माणाधीन सडकको नाली र पर्खाल बनाई नसक्दै भत्किएको स्थानीय प्रेम सुब्बा बताउँछन ।
निर्माणधीन सडकमा बिछ्याइएको सबबेस उप्किएर खाल्डैखाल्डा परेका छन् । अधिकांश क्षेत्रमा नाली र पर्खाल बनाई नसक्दै भत्किएका छन् । सडकमा पस्ने भलबाढी कटाउन आसपासमा निर्माण गरिएको नाली तथा सडकमुनिबाट उठाइएको पर्खाल बनाई नसक्दै भत्किएका हुन् । सडकको कतिपय मेसेनरी र ग्याबिन पर्खाल समेत पल्टिन लागेका छन् । बेस निर्माण गर्दै लापरबाही भएकाले सडकको काम नसक्दै भत्किन थालेको स्थानीयको गुनासो छ । अनुगमन नभएको र ठेकेदारले लापरबाही गरेका कारणले सडक भत्केको स्थानीय बताउँछन ।
यता माङसेबुङ–३ का वडाअध्यक्ष मैतराज राईले गाउँपालिकाको तर्फबाट कामको गुणस्तरका सम्बन्धमा सम्बन्धिन ठेकेदारलाई बोलाएर नै ताकेता गरे पनि अटेर गरेको बताए । ‘काम जुन गुणस्तरमा हुनुपर्ने हो त्यस्तो नभएको पाएपछि गाउँकार्यपालिको बैठकले नै ठेकेदार बोलाएर ध्यानाकर्षण गराएका हौँ । उहाँहरूले सुधार गर्ने प्रतिवद्धता जनाएपनि कार्यान्वयन नगर्दा समस्या भएको छ।’
निर्माण कम्पनि कालिका/गजुरमुखी जेभीका सन्तोष कट्वालले सडकको काम गुणस्तरहीन भएको आरोपमा कुनै सत्यता नभएको जिकिर गरे । सडकको बेस र नाली भत्कनुका कारण गुणस्तरहीन नभएको उनले दाबी गरे । ‘कामको गुणस्तरीयताको मापन स्थानीयले गर्ने होइन, प्राविधिकले गर्ने हो । प्राविधिको मापनमा गुणस्तरीय नै छ’, उनले भने ‘वर्षाले सामान्य भत्काएको हो, प्राकृतिक प्रकोपलाई त कसैले रोक्न सक्दैन । सामान्य भत्किएका बेस र नाली जस्ताको तस्तै बनाउँछौँ ।’
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र ठेकेदार कम्पनी कालिका/गजुरमुखी जेभीबीच ०७५ मंसिर २५ मा ५ वर्षे ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले पाँच वर्षको अवधिमा उक्त सडकको कालोपत्रे गर्ने कामको चरणगत रूपमा कार्य सम्पन्न गर्नुपर्ने छ । उक्त सडक नेपाल सरकारको २० प्रतिशत र एसियाली विकास बैंकको ऋण ८० प्रतिशत खर्च हुने गरी ३१ करोड रुपैयाँको लागत रहेको छ ।