काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजना जतिसक्दो छिट्टो सम्पन्न गर्न पहल सुरु गरेको छ। काठमाडौं उपत्यकाभित्र विद्युत्को बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन प्राधिकरणले निर्माणाधीन आयोजना एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको हो।
काठमाडौं उपत्यकाको विद्युत आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका सबस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्नेलगायत आयोजना सञ्चालित छन्। प्राधिकरणले काठमाडौं उपत्यकामा २ हजार मेगावाट विद्युत खपत गर्ने गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ प्रसारण तथा वितरण प्रणाली पूर्वाधार बनाउन सुरु गरेको छ।
सरकार, प्राधिकरणको लगानी, एसियाली विकास बैंक (एडिबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधारको बृहत् योजना अगाडि बढाइएको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन आयोजनाहरूको स्थलगत अनुगमन गरी निर्माण प्रगति, व्यहोरिरहेका समस्या, एक वर्षभित्र सम्पन्न गर्न गर्नुपर्ने कामलगायत विषयमा जानकारी लिएका छन्।
कार्यकारी निर्देशक घिसिङले काठमाडौंको मातातीर्थमा निर्माणाधीन २२०/१३२/३३ केभी सबस्टेसन, फुटुङ, टेकु, चोभार, भक्तपुरको ठिमी तथा चाँगुनारायणमा निर्माणाधीन १३२/३३/११ केभी सबस्टेसन, विद्युतीय तारको भूमिगत गर्ने कामको अनुगम गरी निर्माणलाई तीव्रता दिन अनुरोध गरे।
‘निर्माणाधीन सबस्टेसन अर्को वर्षको हिउँदअगावै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिएन भने पूर्वाधार अभावमा विद्युत् मागअनुसार आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले निर्माणधिन काम समयमै सम्मन्न गर्न उनले सबैमा अग्रह गरे।
मस्र्याङ्दी र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याएर वितरण गर्न मातातीर्थमा २२०/१३२/३३ केभी, ३२० एमभीए क्षमताको सबस्टेसन निर्माणाधीन छ। आगामी असोजभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि ठूलो हब बन्दै छ।
काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्त्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरको खोकना, बुंमती, हरिसिद्धि र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौंको चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको छ।
प्राधिकरणले काठमाडौंको टेकुस्थित ६६/११ केभी सबस्टेसनको सुदृढीकरण गरी १३२/११ केभी र फुटुङमा १३२/११ केभीको नयाँ सबस्टेसन बनाउँदै छ। दुवै सबस्टेसनमा ४५/४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर राखिनेछ।
फुटुङ सबस्टेसनको मुख्य सिभिल संरचना निर्माण भइरहेको छ भने उपकरण आइसकेका छन्। सबस्टेसन सञ्चालनमा आएपछि बालाजु क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनेछ भने बालाजु सबस्टेसनको लोड कम हुनेछ।
यसैगरी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति सुधार्न सबस्टेसन निर्माण धमाधम भइरहेका छन्। जसले गर्दा विधुतमा भइरहेको समस्या हटेर जाने आशा गरिएको छ।