चितवन। धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन रामपुरमा निर्माण गर्न लागेको लागेको गौतम बुद्ध बहुउद्देश्यीय क्रिकेट रंगशालाको काम भदौदेखि स्थगित भएको छ। अब बाकी रहेको गौतमबुद्ध रंगशालाको निर्माणको काम संघीय सरकारले गर्ने भएको हो।
महानगरपालिकाले पुस ८ मा सकिएको १० औं नगरसभाको निर्णयहरू जानकारी दिन बुधबार बिहान पत्रकार सम्मेलन आयोजना गरेको थियो उक्त कार्यक्रममा अहिलेसम्मको प्रगति विवरण राख्दै मेयर रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालगायत आयोजना ‘देशकै रूपान्तरणकारी आयोजनाको रूपमा रहेको’ चर्चा गरिन्। तर रंगशालाको काम रोकिएका बारेमा प्रश्न राखेपछि मात्र ‘बाँकी काम संघीय सरकारले गर्ने’ बताइन्।
सहयोग रकम धुर्मुस–सुन्तली फाउन्डेसनले राष्ट्रिय, अन्तर्राष्ट्रिय र जनस्तरबाट जुटाउने भन्ने रहेको दाहालको भनाइ थियो। ‘अब जुट्न सकेन त सरकार यसै बस्दैन। महानगर आफ्नो जिम्मेवारीबाट पन्छिने छैन,’ मेयर दाहालले भनिन्।
राष्ट्रिय गौरवको अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन महानगरपालिकाले मात्र नभ्याउने उनले बताइन्। संघीय सरकार र प्रदेश सरकारसँग बजेटको आग्रह गरेर काम अगाडि बढाउने भनेर फाउन्डेसनलाई पनि राखेर छलफल गरिसकेको उनले जानकारी दिइन्।
महानगरले सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय भरतपुरलाई भौतिक निर्माणको प्रगति अध्ययन गर्न र खर्च विवरणका लागि चार्टर्ड एकाउन्टेन्ट संस्थामा लेखेर पठाएको छ। छिट्टै दुवै निकायले अध्ययन प्रतिवेदन बुझाउने दाहालले बताइन्। ‘ऋण तिर्न र बहुवर्षीय ठेक्काबाट काम पूरा गर्न संघीय सरकारबाट राम्रो आश्वासन आएको छ। रंगशाला निर्माणको बाँकी काम संघीय खेलकुद मन्त्रालयले अगाडि बढाउने आश्वासन आएका कारण आफूहरू आशावादी बनेको उनले बताईन्।
‘धुर्मुस–सुन्तली फाउन्डेसनबीच रंगशाला निर्माणका लागि २०७५ सालको माघ १६ गते सहमतिपत्रमा हस्ताक्षर भएको थियो। कोरोना प्रकोप बढेसँगै सहयोग जुट्न नसकेको, काम अगाडि बढाउँदा ऋण बढ्दै गएको कारण देखाएर फाउन्डेसनले विशेष परिस्थिति आएको भन्दै अपुरो रंगशालाको स्वामित्व हस्तान्तरण गर्न पत्र लेखेको हो।