सुर्खेत। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वीरेन्द्रनगरमा निर्माण गरिएको सुर्खेत सभाहलको उद्घाटन गरेकी छन्। एक कार्यक्रमका बीच मन्त्री झाँक्रीले भवनको उद्घाटन गर्दै नगरपालिकालाई हस्तान्तरण गरेकी हुन्।
भवन शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वय इकाई सुर्खेतले निर्माण गरेको हो।
आयोजनाले भवन निर्माणसहित, सरकारी भवन निर्माण कार्यक्रम अन्तर्गत सुर्खेत सभाहल (प्रथम चरण) को कार्य सम्पन्न गरेको छ।
सभाहल निर्माणका लागि २६ करोड ९१ लाख ९५ हजार २६४ रुपैयाँ बराबरको लागत विनियोजन गरिएको थियो।
भवन निर्माणको जिम्मा श्री समनान्तर–चक्रेश्वरी शिवशक्ति जेभि काठमाण्डौंले पाएको थियो । सभाहल आर्थिक बर्ष ०७३ चैत्र २७ गते सम्झौता भई ०७६ चैत्र २३ गते सम्पन्न गर्ने भनिएको थियो । तर सम्झौता अवधिमा निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेको थिएन।
बीचमा कोरोना भाइरसका कारण काम प्रभावित भएको संघीय आयोजना कार्यान्वयन इकाईका आयोजना प्रमुख अमरबहादुर थापले बताए। त्यसपछि ०७८ भदौ २३ गते सम्म म्याद थपिएको र सोही अवधिमा सभाहल (प्रथम चरण) को कार्य सम्पन्न भएको हो ।
सभाहल ४ वटा ब्लग मिलि बनेको छ । ब्लग एकमा मल्टि प्रपोज हल तीन वटा रहेका छन् । जसमा पहिलो मल्टिप्रपोज हलमा १५० सिट क्षमता, दोस्रो मल्टिप्रपोज हलमा एक सय सिट क्षमता र तेस्रोमा ५० सिट क्षमता रहेका छन् । साथै पहिलो ब्लगमा ग्यालरी तथा महिला पुरुष ट्वाईलेट जस्ता संरचनाहरु रहेका छन् ।
ब्लग दुईमा सिनेरी स्टोरेज रुम, जन्रल स्टोरेज रुम, पहिलो तलामा महिला पुरुष रिहर्शल रुम, ड्रेशिङ् रुम, पुरुष महिला शौचालय रहेको छ भने दोस्रो तलामा रिहर्शल रुम र शौचालय रहेको छ। ब्लग तीनमा भिआईपी रुम, प्रेस रुम, ओइटिङ रुम र पुरुष महिला शौचालय छ भने पहिलो तलामा प्रशासनिक कक्ष, पुरुष महिला ट्वाईलेट रहेको छ । जसमा सेन्सर सहितको युरिनल जडान गरिएको छ।
ब्लग चारमा सभाहलको मुख्य संरचना हो । जसमा भुईतला र बाल्कोनी गरी जम्मा ७८० सिट क्षमताको हल छ । जसमा मेन स्टेजसँगै डान्स सर्फेस र हाउस कर्टेनको व्यवस्था गरिएको छ भने सर्भीस कोरिडर, ग्यालरी सहित फुल्लि एचभिएसी सिस्टम र फायर फ्राईटनिङ् सिस्टमको व्यवस्था गरिएको छ ।
क्यान्टिनको लागि पनि छुट्टै व्यवस्थापन गरिएको छ भने सौन्दर्यका लागि दुबो र विरुवाहरु रोपिएको छ। भवनका सम्पुर्ण ब्लगहरुमा आधुनिक प्रकारका बत्ति जडान गरिएका छन् ।