सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण गरिएको सुविधा सम्पन्न सभाहल स्थानीय वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरिएको छ। दुई चरणमा निर्माण योजना रहेको सभाहल पहिलो चरणको काम सकिएसँगै हस्तान्तरण भएको हो।
बिहीबार शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सभाहल उद्घाटन गर्दै नगरपालिका प्रमुख देवकुमार सुवेदीलाई हस्तान्तरण गरेकी हुन्। सभाहलको पहिलो चरणको निर्माण कार्य सम्पन्न भए पनि दोस्रो चरणको योजना तथा डीपीआरसमेत तयार भएको छैन।
भवन शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले निर्माण गरेको हो। प्रदेश राजधानीका केन्द्रहरुमध्ये सबैभन्दा पहिले यो भवन निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ।
वीरेन्द्रनगर नगरपालिका –६ मा रहेको उक्त सभाहल २५ हजार २८९.१६ वर्गमिटर क्षेत्रफल अर्थात् ५० रोपनी जमिनमा निर्माण गरिएको छ। यो भवन आर्थिक वर्ष २०७३/०७४ मा राष्ट्रिय भवन संहिता २०६० को मापदण्ड अनुसार डिजाईन गरिएको थियो।
भवन निर्माणको जिम्मा समानान्तर–चक्रेश्वरी शिवशक्ति जेभी काठमाण्डौंले पाएको थियो। निर्माण कम्पनीले भने सम्झौता अनुसार काम गर्न सकेको थिएन। ०७३ चैत्र २७ गते सम्झौता भई ०७६ चैत्र २३ गते सम्पन्न गर्ने भनिएको भएतापनी सम्झौता अवधिमा निर्माण कम्पनीले काम सम्पन्न गर्न भने सकेन। बीचमा कोरोनाभाइरसका कारण काम प्रभावित भयो। त्यसपछि ०७८ भदौ २३ गतेसम्म म्याद थपिएकोमा सोही अवधिमा सभाहल (प्रथम चरण) को कार्य सम्पन्न भएको हो।
सभाहलमा विभिन्न सुविधा सहित हल परिसरमा ११० वटा सवारी पार्किङ गर्न सकिने व्यवस्था गरिएको छ। सभाहलको पूर्व तर्फको भागलाई व्यापारिक प्रयोजनका लागि खाली छाडिएको छ। यसबाट सभाहल सञ्चालनका लागि भविष्यमा आयआर्जन गर्न सकिने बताइएको छ।
सभाहल निर्माणबाट कर्णाली प्रदेश तथा सुर्खेत उपत्यकामा हुने सामाजिक, धार्मिक, आर्थिक एवम् राजनीतिक सेमिनार गोष्ठी तथा सम्मेलनका लागि पनी सुविधा हुने जनाइएको छ।