अम्बिका खड्का
काठमाडौं । ग्रामिण विकास अध्ययन गरिरहेका विशालजंग थापाको भेट, एक दिन प्रशान्त बुढाथोकी र एलोन विष्टसँग भयो । एलिशा लिम्बूको माध्यमबाट भएको त्यो पहिलो भेटमा तीनै जनाको सोचविचार मिल्यो । विचार मिलेपछि सोच्नुपर्ने अरु केही छ जस्तो लागेन, एलोनले प्रस्ताव गरे, विशाल र प्रशान्तले समर्थन जनाए र १९ डिसेम्बर २०१९ को दिन बिहान तीनै जना एउटा–एउटा साइकल लिएर निस्किए वातावरणसम्बन्धी सचेतना जगाउँदै मेचीमहाकाली यात्रामा ।
यसरी वातावरण संरक्षणका लागि गहिरो सोच बोकेर निस्किएका तीन युवाहरुको अभियान प्रोजेक्ट नेचर नेपालमा अहिले ३५ जना सदस्य छन् भने उनीहरुलाई साथ दिन पूर्व मेचीदेखि पश्चिम महाकालीबाट मात्र नभएर विदेशमा रहने नेपाली र प्रवासी नेपालीले समेत हातमा हात मिलाइरहेका छन् ।
साइकलयात्रा सकेपछि उनीहरुले देशकै पर्यटकिय गन्तव्य पोखरामा अवस्थित फेवा ताल सफाइ अभियान चलाए । कोरोना संक्रमणको भयावह कायम रहेकै अवस्थामा १४५ दिनसम्म चलेको सो अभियानमार्फत फेवा तालबाट करिब ९० टन फोहोर निकालिएको प्रोजक्ट नेचरका सदस्य थापाले बताए ।
फेवा तालबाट ४०, ५० वर्ष अघिदेखि जमेर रहेका फोहोरहरु समेत आफूहरुले निकालेको थापाको भनाइ छ । स्थानीय तहसँग समन्वय गरेर नै शुरु गरिएको फेवा ताल सफाइ अभियानमा स्थानीय युवा क्लव, आमा समूह, युवा भाइबहिनीलगायत सबैले सहयोग गरेर नै ताल सफा बनाउन सम्भव भएको भन्दै थापाले सहयोगी मन सबैप्रति आभार व्यक्त गरे ।
फेवा ताल सफाइ अभियान सकेर तालको सुरन्दरतालाई जीवित बनाउन सफल प्रोजेक्ट नेचरले पोखरामा एउटा राम्रो संस्कार विकास गरेको छ । सफाइ अभियान सकेपनि यहाँका युवाहरुमा वातावरण र प्रकृतिप्रतिको मोह भने झन बढेको छ । ताल सफाइ अभियानमा सक्रिय भएर लागेका जोनिस पौडेल, सन्तोष बराल, सचिना लिम्बू, अमिस ढकाल, प्रकाश अधिकारी, असिम रानामगर, अमर सिंह, मनिस भण्डारी लगायतको समूह यतिबेला पोखराका विभिन्न स्थानमा वृक्षरोपण, विभिन्न स्थानमा कोरोना संक्रमणको समयमा स्वास्थ्य शिविरको आयोजना गर्ने लगायतका कार्यमा सक्रिय छन् । प्रोजेक्ट नेचरका थापा सफाइ अभियानमा यी भाइबहिनीको महत्वपूर्ण भूमिका रहेको भन्दै अभियानको जस उनीहरुले पनि पाउनु पर्ने बताउँछन् ।
पोखरामा फेवाताल सफाइ अभियान सकेर प्रोजेक्ट नेपालले धरानका विभिन्न ठाउँमा फोहोर व्यवस्थापन र सरसफाइ अभियान चलायो । यसले हाल देशका विभन्न स्थानमा वृक्षरोपण र सफाइका कार्य गर्दै वातावरणको संरक्षण गर्नुपर्छ भन्ने सचेतना फैलाउँदै आएको छ ।
शुरुमा आफ्नै व्यक्तिगत खर्चमा अभियान सञ्चालन गर्दै हिँडेका उनीहरुलाई हाल देशविदेशबाट भौतिक तथा आर्थिक सबै किसिमको सहयोग प्राप्त हुने गरेको थापाले जानकारी दिए । देश र समाजकै लागि केही गर्नुपर्छ भन्ने सोचले आफू अघि बढेको सुनाउने थापाले अझै १० वर्षसम्म आफूले यसै क्षेत्रमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रोजेक्ट नेचर नेपालले आगामी दुई वर्षका लागि गतिलो योजना बनाइरहेको र त्यसकै लागि आवश्यक अनुसन्धान र स्रोत जुटाउने कार्यमा लागेको थापाले बताए । वातावरण तथा प्रकृति संरक्षणका लागि पनि सामाजिक, आर्थिक, भौगोलिक, राजनीतिक, मानवीय जीवनशैली लगायत अधिकांश कुरा जोडिने हुँदा यो क्षेत्र धेरै नै संवेदनशील रहेको थापाको भनाइ छ । वातावरणलाई जोगाउन, प्रकृतिलाई बचाउन आफूहरुले गरेको प्रयास सानो भएको भन्दै यसका लागि अझै धेरै अध्ययन, अनुसन्धानको आवश्यकता रहेको उनको बुझाइ छ ।
आफ्नो भविष्य बनाउने, खाने रमाउने र कमाउने उमेरमा वातावरण संरक्षण, फोहोर व्यवस्थापन र युवाहरुमा चेतना फैलाउँदै हिँडेका यी युवाहरुको काम साँच्चै नै उदाहरणीय छ ।