काठमाडौं। नारायणहिटी दरबार संग्रहालय भित्र रेष्टुरेन्ट निर्माणको अनुमति पाएर बिना नक्सा पास संरचना निर्माण गरेको भन्दै विवादमा परेको बतास अर्गनाइजेसन अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले देशका मुख्य मुख्य सार्वजनिक स्थान व्यवसायका लागि हात पारेको खुल्न थालेको छ।
नारायणहिटी दरबार संग्रहालयमा रोयल बगैंचा रेष्टुरेन्ट चलाउने ठेक्का हात पारेको बतास समूहले पशुपति धर्मशालामा ‘फोर स्टार’ होटल चलाइरहेको छ।
बतास समुहले पोखरास्थित गण्डकी संग्रहालयको जग्गा र भवन पनि ओगटेको छ। १० वर्षको म्याद सकिएको पनि एक वर्ष बित्यो तर बतासले संग्रहालय छोडेको छैन। अझै २५ वर्ष म्याद थप गर्न पहुँच लगाइरहेको बताइएको छ।
पुरातत्त्व विभागमातहत पोखराको नयाँबजारमा रहेको तत्कालीन क्षेत्रीय संग्रहालय हाल जुन प्रदेश संग्रहालयका रूपमा गण्डकीको शिक्षा, संस्कृति मन्त्रालयअन्तर्गत छ । सोही संग्रहालयको पश्चिमपट्टि मूल सडकसँग जोडिएको जग्गा र भवन भाडामा लगाउन पुरातत्त्व विभागले २०६७ मा सूचना निकालेको थियो । बढी भाडा कबोल गर्ने बतास ब्रदर्स मोटर्स प्रालिले २०६७ माघ ३ देखि लागू हुने गरी १० वर्षका लागि यो क्षेत्र भाडामा लिएको थियो।
त्यसैगरी तनहुँको सेल्फीडाँडाका रूपमा चर्चित मानहुँकोट ५० वर्षका लागि ‘लिज’ मा लिन बतास समूहले व्यास हिल्स प्रालि खडा गरेको छ । यो कम्पनीसँग सम्झौता गर्न व्यास नगरपालिकाले अध्ययन प्रक्रिया अगाडि बढाएको छ।
बतासले पाटनबाट मानहुँकोटसम्म केबलकार, जिपलाइन, ग्लास पुल, होटल, रिसोर्टलगायत पूर्वाधार बनाउने तयारी गरेको छ । कम्पनीले मानहुँकोटमा ४ अर्ब रुपैयाँको लगानी गर्ने गरी प्रस्ताव पेस गरेको बताइएको छ।
त्यसैगरी पोखरा महानगरले सेती नदी थुनेर ३५ वर्षसम्म रामघाटबाट ढुंगा–गिट्टी, बालुवा निकाल्न बतास समूहलाई दिन लागेको छ । ६ अर्ब १९ करोड बजेट भएको पोखरा महानगरले वार्षिक जम्मा ७ करोडका लागि सेती नदी ‘बी रिभर माइनिङ’ कम्पनीलाई जिम्मा लगाउने तयारी गरेको हो ।
सेतीले बगाएर ल्याउने बालुवा रामघाटमा आइपुग्छ । बाँध बनाएर नदी थुन्ने र ढुंगा–गिट्टी तथा बालुवा उत्खनन गर्ने बतासको योजना छ । ‘सेतो सुन’ को खानी हात पार्न बी रिभर माइनिङ प्रालि खोलेर बतास समूहले दुई वर्षअघि प्रक्रिया अगाडि बढाएको हो ।