रुकुम पूर्व। बाक्लो हिमपातका कारण रुकुम पूर्वका विकास निर्माणका काममा समस्या भएको छ। हिउँका कारण निर्माणाधीन पूर्वाधार रोकिनुका साथै निर्माण सामाग्रीमा समेत क्षति पुगेको हो।
हिमपातका कारण सिस्ने गाउँपालिका–१ मा पाखा ओराली लघु जलविद्युत् आयोजनाको काम रोकिएको छ। माघसम्म काम सम्पन्न गरिसक्नुपर्ने विद्युत् आयोजनाको काम हिमपातका कारण धकेलिने भएको छ।
गएको साता बाक्लो हिउँ परेपछि काम गर्न सिस्ने–१ मा गएका प्राविधिक कर्मचारी र कामदार सबै फिर्ता भएका छन्। हिउँ नपग्लिँदासम्म काम पुनः सुरु गर्न नसकिने वडाध्यक्ष मानबहादुर बुढाले बताए।
विद्युत् आयोजनाका लागि भनेर पाखाओरालीमा पुर्याइएको १२ क्विन्टल सिमेन्ट पनि नष्ट हुने अवस्थामा रहेकाे वडाध्यक्ष बुढाले बताए। उनका अनुसार हिउँले पर्खालमा पनि क्षति पुगेको छ। देउ खोलाबाट प्रति खेप दुई दिन लगाएर खच्चडमार्फत ढुवानी गरिएको सिमेन्ट नष्ट हुँदा समस्या भएको छ। श्रमदानसहित रु तीन करोड ७७ लाखको लागतमा निर्माण हुन लागेको विद्युत् आयोजनाको अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ ।
त्यसैगरी सिस्ने–१ मा टावर निर्माणसँगै वडाबाट सम्झौता भई सञ्चालन भएका सबै विकासे कामकाज ठप्प अवस्थामा रहेको वडा कार्यालयले जनाएको छ। पुथाउत्तरगङ्गा गाउँपलिका–१,२,३ र ५ मा पनि सञ्चालन भइरहेका विभिन्न विकासे योजनाको कामकाज ठप्प भएको छ।
त्यस क्षेत्रमा भवन निर्माण, गोरेटो बाटो निर्माण, पर्यटन सिग्नल बोर्ड लगाउने, तारबार, धारो, कुवा, म्युजियम निर्माणको काम सबै रोकिएको वडा नं १ का कार्यवाहक अध्यक्ष मग कामीले बताए। गएको सातामा जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा भएको हिमपातले मानिसको दैनिकी कष्टकर त बनेको छ नै, विकासे योजनाको काम रोकिँदा कामकाज पनि पछि धकेलिएको छ।