काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा बनाएको सडक विस्तार गर्ने काम भइरहेको बताएका छन्।
उत्तराखण्डको हल्द्वानीमा एक र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आफ्नो सरकार राज्यका मानिसको लाभको लागि विकासलाई तीव्रता दिइरहेको बताएका हुन्।
मोदीको भनाइ उदृत गर्दै बीबीले उल्लेख गरेको छ, ‘तपाईंहरुलाई सुख सुविधाबाट वञ्चित गर्नेहरुका कारण मानसरोवरको प्रवेशद्वार मानसखण्ड सडकमार्गसँग जोड्ने काम वञ्चित रह्यो। हामीले केबल टनकपुर पिथौरागढ अल वेदर रोडमा काम गर्यौं। हामीले लिपुलेकमा एक सडक पनि बनाएका छौं र अब विस्तारको काम भइरहेको छ।’
भारतीय प्रधानमन्त्रीले लिपुलेक आफ्नो भूमि रहेको भन्दै सडक चौडा गर्ने बताइरहँदा नेपाल सरकारले भने यसबारे आधिकारिक रुपमा केही प्रतिक्रिया जनाएको छैन। मानसरोवर र कैलाशसम्म भारतीय नागरिक पुग्न सजिलो हुने भन्दै भारतले लिपुलेकमा सडक चौडा गरिरहेको बीबीसीले जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारतयात्राका क्रममा दुई देशबीचमा सीमा मुद्दामा मोदीसँग छलफल गर्ने तयारी भएको भए पनि कोरोनाका कारण कार्यक्रम स्थगित भएपछि उनको भारत भ्रमण रोकिएको थियो ।
नेपाली भूमि लिपुलेकमा ९ अप्रिल २००८ मा भारतीय रक्षा मन्त्री राजनाथ सिंहद्वारा धारचुला लिपुलेख लिंक रोड उद्घाटन गरेपछि नेपाल सरकारले विरोध गरेको थियो।
सडक उद्घाटन लगत्तै तत्कालीन केपी शर्मा ओली सरकारले नेपालस्थित भारतीय राजदूतलाई बोलाएर राजनीतिक नोट जारी गरेको थियो जसमा नेपाली भूभागमा कुनै पनि गतिविधि नगर्न भारतलाई आग्रह गरिएको थियो । तर भारतले त्यसलाई जारी राख्यो । भारतले नेपाली भूमि लिपुलेक लिम्पियाधुरासहितको क्षेत्र समावेश गरेन नक्सा जारी गरेपछि नेपालले त्यसको विरोध गरेको थियो र ओली सरकारले ति भूभाग समेटेर चुच्चे नक्सा जारी गरेको थियो ।