मोरङ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कानुको उल्झनलाई बाहाना बनाएर विकासका काम रोक्न नहुने बताएका छन्।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित ‘वन, वातारणसँग पूर्वाधार विकास निर्माणको अन्तरसम्बन्ध’ विषयक अन्तरक्रियामा मुख्यमन्त्री राईले कानुनी उल्झनको बहानामा पूर्वाधार विकासका काम रोक्न नहुने धारणा राखेका हुन्।
उनले भौतिक पूर्वाधार विकासमा तीनै तहको सरकार र तिनका निकायबीच समन्वय हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘जो कोही सरकारले विकास गरोस्, भूगोल त एउटै हो, म पनि त्यसको एक उपभोक्ता हुँ भन्ने ठान्नुपर्यो।’ मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकासका लागि कानुनको आवश्यक संशोधन, परिमार्जन वा नयाँ कानुन निर्माण गर्न प्रदेश सरकार तयार रहेको बताए।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले विकासका नाममा जथाभावी डोजर चलाउने विषयमा सरकार सचेत रहेको बताए। प्रदेश सरकार योजनाबद्ध विकासको पक्षमा रहेको उनको भनाइ छ।
सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले जथाभावी बाटो बनाउनाले पहाडी क्षेत्रमा भूक्षयको समस्या हुने गरेकोतर्फ सचेत हुन आग्रह गरिन्। प्राकृतिक विनाश हुनुमा पहाडी क्षेत्रबाट हुने बसाइँ सराइको कारण हुन थालेको भन्दै उनले विकास प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिइन्।