लुम्बिनी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि बजेटको कमी नहुने बताएका छन्।
लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका क्रममा मन्त्री आलेले यस्तो बताएका हुन्।
उनले भगवान् गौतमबुद्धको जन्मस्थल पनि भएको र बुद्धकै नामले लुम्बिनी देश–विदेशमा चिनिएको साथै यहाँको विकासका लागि आफू सधैँ सकारात्मक रहेकाले बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका हुन्।
उनले भने, “शान्तिका दूत भगवान् गौतमबुद्ध जन्मिनुभएको र उहाँकै नामबाट देश–विदेशमा चिनिएको लुम्बिनीको विकासका लागि बजेटको कुनै कमी हुँदैन। यहाँ निर्माण गरिन लागिएका संरचना निर्माणका लागि बजेटको अभाव भयो भने लेखेर पठाउनुहोला। म यही कोषको अध्यक्ष भएकाले पनि बजेट प्रदान गर्नु मेरो दायित्व हुने छ।”
लुम्बिनी क्षेत्रमा निर्माण भइरहेका विभिन्न भौतिक संरचनाको काम समयमै सम्पन्न गरिसक्नसमेत मन्त्री आलेले निर्माण व्यवसायीसँग आग्रह गरेका छन्। लुम्बिनी क्षेत्रमा निर्माण भएका काम गुणस्तरयुक्त हुनुपर्ने मन्त्री आलेको भनाइ थियो ।
मन्त्री आलेले लुम्बिनीमा निर्माण गरिन लागिएका सम्पूर्ण संरचना गुणस्तरयुक्त तथा मापदण्डसहित निर्माण गर्न र गराउनका लागि सबै क्षेत्र, तह, तप्काका नागरिकले चासो देखाउनुपर्ने बताइ।
उनले लुम्बिनी विकास कोषअन्तर्गत रहेको एक हजार १५५ बिघा जमिनमा थुप्रै भौतिक संरचना निर्माण भइसकेका र कम्तीमा पनि ८१ प्रतिशत काम सम्पन्न गरिसकेको बताए। मन्त्री आलेले बाँकी रहेको १९ प्रतिशत काम चाँडो बोलपत्र प्रक्रियाबाट सुरु गराउन समेत लुम्बिनीको विकास कोषका पदाधिकारीलाई निर्देशन दिए।