काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गरेकी छन्। भुसालले ललितपुर महानगरपालिका–२१ स्थित नख्खु खोलामा निर्माण सुरु गरिएको मुहानको हिजो उद्घाटन गरेकी हुन्।
स्थानीयका अनुसार उक्त राजकुलो सिँचाइ प्रणाली करिब ३०० वर्षअघिदेखि सञ्चालनमा आएको हो। सो राजकुलोको सञ्चालन विगतमा गाउँका मुख्य व्यक्तिबाट हुँदै आएकामा हाल खोकना राजकुलो व्यवस्थापन समिति गठन गरेर गरिँदै आएको छ। चालू आर्थिक वर्षमा मन्त्रालयले मुहान संरक्षणका लागि रु एक करोड ३२ लाख र नहर निर्माणका लागि रु ४० लाख विनियोजन गरेको थियो।
कुलोको मुहान शिलान्यास गर्दै मन्त्री भुसालले ऊर्वराभूमिलाई खण्डीकरण गरेर घडेरीका रूपमा बिक्री गर्नेभन्दा पनि उर्वरा जमिनबाट कृषि उत्पादन गरी त्यहीबाट आर्थिक उपार्जन गर्न खोकनावासीलाई आग्रह गरिन्। सामूहिक खेती गरेर उत्पादकत्व वृद्धितर्फ लाग्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, ‘हामी सबै मिलेर सामूहिक खेती गरौँ, म पनि खेतीमा सामेल भएर काम गर्न चाहन्छु।’
मन्त्री भुसालले शिलान्यास गरिएको राजकुलोको काम गुणस्तरीय तवरले निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिइन्। उनले भनिन्, ‘उपभोक्ताले कामको निरन्तर नियमन गरेर कुलोबाट जतिसक्दो धेरै फाइदा लिने गरी निर्माण गर्नुपर्छ, त्यसको आवश्यक प्रबन्ध म गर्नेछु, स्थानीयस्तरमा तपाइँहरू सक्रिया हुनुहोस्।’
सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले ऐतिहासिक कुलो स्तरोन्नतिबाट खोकनावासीलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्दै विनियोजित बजेटको सही तवरले सदुपयोग हुने बताए।
शिलान्यास गरिएको राजकुलोबाट छम्पी, ठेचो, बुङ्मती, भैँसीपाटी र खोकनाको करिब १० हजार रोपनी खेतीयोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध हुने विश्वास गरिएको छ। यस प्रणालीबाट करिब दुई हजार परिवारका एवं सात हजार व्यक्ति लाभान्वित हुने छन्।