काठमाडौं। आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर तिर्न विभिन्न निर्माण व्यवसायी लगायत ३३१ संघसंस्थालाई ताकेता गरेको छ। आइतबार आन्तरिक राजस्व कार्यालय पुतलीसडक र बानेश्वरले सूचना सार्वजनिक गर्दै भ्याट दाखिला गर्न ताकेता गरेको हो।
आन्तरिक राजस्व कार्यालय बानेश्वरले ९६ जना करदातालाई ७ दिनभित्र मूल्य अभिवृद्धि कर बक्यौता रकम दाखिला गर्न भनेको छ । त्यस्तै आन्तरिक राजस्व कार्यालय पुतलीसडकले २३५ करदाताहरुलाई १५ दिनभित्र भ्याट बुझाउन भनेको छ ।
कर तिर्न बाँकी रहेकामा विभिन्न निर्माण व्यवसायीहरु पनि रहेका छन्। राजस्व कार्यालयले सार्वजनिक गरेको सूचनामा विभिन्न राजनीतिक क्षेत्रमा लागेका निर्माण व्यवसायीदेखि अन्य व्यवसायी र विभिन्न संचार माध्यमहरु पनि कर नतिर्ने सूचीमा रहेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लामा कन्स्ट्रक्सन कम्पनी प्रालिका अध्यक्ष जिपछिरिङ लामा पनि कर नतिर्ने सूचीमा छन्। लामा बिल्डर्स/बाम्ती जेभीले ५ करोड ९० लाख ८५ हजार, लामा बिल्डर्स/बिरुवा जेभीले १ करोड ३३ लाख ९६ हजार, लामा बिल्डर्स/कन्चनजंघा जेभीले १ करोड ३१ लख ५२ हजार रुपैयाँ भ्याट तिर्न बाँकी छ। त्यस्तै, लामा/कान्छाराम जेभीले ५२ लाख ३६ हजार ४५२ रुपैयाँ कर तिरेका छैनन् ।
निलम्बित सांसद हरिनारायण प्रसाद रौनियारको पप्पु कन्स्ट्रक्सनले पनि आन्तरिक राजस्व कार्यालय बानेश्वरमा कर तिर्न बाँकी रहेको देखिएको छ। पप्पु एलाइट जेभीको २३ लाख २० हजार ३३९ र पप्पु–बाम्ती जेभीको २२ लाख ८७ हजार रुपैयाँ भ्याट बुझाउन बाँकी छ ।
आन्तरिक राजस्व कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार सनलाईट मल्टिपर्पोज प्रालिले सबैभन्दा धेरै १३ करोड १ लाख ५४ हजार रुपैयाँ भ्याट तिर्न बाँकी छ । त्यस्तै, बिरुवा कन्स्ट्रक्सन (सुबित श्रेष्ठ), शर्मा एन्ड कम्पनी (रमेश शर्मा), कान्छाराम निर्माण सेवा (कान्छाराम लामा), श्यामसुन्दर निर्माण सेवा (शशिधर रिजाल), लोकप्रिय निर्माण सेवा (सुशील कार्की), डाँफे कन्स्ट्रक्सन लगायत दर्जनौं निर्माण व्यवसायीहरुले भ्याट तिर्न बाँकी रहेको देखिएको छ।
तोकिएको म्यादभित्र भ्याट नतिरे कम्पनीको कारोबार रोक्का, फर्म/कम्पनी/साझेदारी/जेभी/पार्टनरहरु तथा तिनका जिम्मेवार व्यक्तिहरुको बैंक खाता रोक्का, सम्पत्ति रोक्का, लिलामी आदि प्रकृया अघि बढाउने र कर बक्यौता असुलउपर गर्ने पनि कार्यालयले जनाएको छ ।