तनहुँ। व्यास नगरपालिका–११ स्थित तनहुँसुर इको ट्रेकमा सिँढी निर्माण गरिएको छ। पदयात्रा गर्दै तनहुँसुर पुग्ने पदयात्रीको सहजताका लागि ट्रेकमा सिँढी निर्माण गरिएको हो।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् सिँढी निर्माणको गरिएको वडाध्यक्ष नीरबहादुर खड्काले जानकारी दिए। वडाका बेरोजगारलाई न्यूनतम १०० दिनको रोजगारी दिने उद्देश्यसहित दश जनाले यो कामका लागि रोजगारी पाएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् सिँढी निर्माणका लागि यो वर्ष पाँच लाख बजेट विनियोजन गरिएको थियो। उक्त बजेटबाट ३२० मिटर सिँढी निर्माण गरिनेछ।
गत वर्ष रु ६ लाख बजेटमा तीन सय मिटर सिँढी निर्माण भइसकेको छ। जैविक विविधता संरक्षणसँगै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित गत वर्षमात्रै तनहुँसुर इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको थियो ।
वर्तमान समयमा भौतिक विकासबाट पर्यावरणमा प्रतिकूल असर पर्दै गइरहेको अवस्थालाई मध्यनजर गरी पर्यटनविज्ञ सहितको टोलीले सो मार्गको सम्भाव्यता अध्ययन गरेको थियो।
मूलपानीदेखि तनहुँसुरसम्म ६.५ किलोमिटरको उक्त टे«क समुन्द्र सतहबाट पाँच सय मिटरको उचाइबाट शुरु हुने र एक हजार दुई सय ५० मिटरको उचाइमा समाप्त हुनेछ।
पदयात्राका क्रममा ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरुको अवलोकन, तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप, गद्दी चौतारा, सिढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, भगवतीपानी मन्दिर, विष्णु र शिव मन्दिर, टुँडिखेल, सिलखान, जारकाटे ढुङ्गा, शहीद पार्क, ऐनापहरा, छाप लगाउने ढुङ्गा अवलोकन गर्न सकिन्छ ।
पृथ्वीराजमार्गमा पर्ने घाँसीकुवादेखि मूलपानीसम्म करिब चार किमि मोटरयात्रा, त्यसपछि चमेरेगुफा–भगवतीपानी मन्दिर–तनहुँसुर देवस्थल सामुदायिक घरबास हुँदै तनहुँसुर गढीसम्म पदयात्रा गर्न सकिनेछ ।