पर्वत। मल्याङ्दी खोलामाथि झोलुङ्गे पुल निर्माण गर्न स्थानीयवासीले माग गरेको आधा शताब्दी बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन्।
कुश्मा नगरपालिका–१० पिपलटारीको सिमखेत र फलेवास नगरपालिका–३ शङ्करपोखरी जोड्ने मल्याङ्दी खोलामाथि झोलुङ्गे पुल निर्माण गर्न स्थानीयवासीले माग गरेको झण्डै आधा शताब्दी बितेपनि उनीहरुको माग पूरा हुन नसकेको हो।
वर्षौदेखि पुलको माग गर्दा पनि अझै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ। पुल नहुँदा जोखिम मोलेर स्थानीयवासी खोला वारपार गर्न बाध्य भएका छन् । गाउँ नजिकैको सिसाठाँटीमा पुल बनाइदिन आग्रह गर्दै तत्कालीन अञ्चलाधीशको कार्यालय बागलुङ गएको फलेबास–३ सिमखेतका ५६ वर्षीय शालिग्राम अधिकारीलाई अझै सम्झना छ ।
अहिलेको जस्तो गाडीको सुविधा नहुँदा बाटो खर्च बोकेर उनका बुबा दुई दिन लगाएर बागलुङ पुगी अञ्चलाधीशको कार्यालयमा पुल बनाइदिन बिन्ती चढाएर आएको सम्झन्छन् उनी। तर अहिलेसम्म पुल नबन्दा दुखी छन्। २०३६ मा बनेको ज्ञादी सिँचाइ आयोजनाको नहर उद्घाटन गर्न आउँदा तत्कालीन राजा वीरेन्द्रले लट्ठा बोक्न सके पुलका लागि बजेट पठाउने आश्वासन दिएका थिए।
बुटवलबाट लठ्ठा बोकेर ल्याउन कसैले आँट गर्न सकेनन्। र पुल बनेन। पुल नहुँदा स्थानीयवासी काठको साँघु बनाएर वारपार गरिरहेका छन्।
अञ्चलाधीशको कार्यालय हुँदै तत्कालीन जिविस, विभाग, मन्त्रालयलगायत सबैजसो सरकारी निकायमा पुल बनाइदिन माग गर्दै स्थानीय डेलिगेसन गइसकेका छन् तर अहिलेसम्म कतैबाट पनि पुल निर्माणका लागि पहल भएको छैन ।मल्याङ्दी खोला वर्षातका पाँच महिना तर्नै नसकिने गरी उर्लिन्छ । त्यही समय धान, कोदो रोप्न र घाँस दाउरा गर्नुपर्ने भएकोले खोला वारपार नगरी स्थानीयवासीलाई सुखै छैन । शङ्कर पोखरीको जनसहयोगी माविमा पीपलटारीका ५० भन्दा धेरै विद्यार्थी यही खोलामा हेलिएर आउजाउ गर्दै आएका छन् । कक्षा ११ र १२ पढ्न शङ्कर पोखरीतर्फका विद्यार्थी पीपलटारीको पूर्णेश्वर माविमा पुग्नुपर्ने अवस्था छ ।