काठमाडौं। पोखरा उद्योग वाणिज्य संघले नारायणहिटी दरबार क्षेत्रभित्र निर्माणाधीन रेष्टुरेन्टको संरचना भत्काउँदा बतास समूहलाई स्पष्टिकरण दिने मौका सम्म नदिएको आरोप लगाएको छ। संघले विज्ञप्ति जारी गर्दै स्पष्टिकरण दिने मौका पनि नदिई संरचना भत्काउनु राज्यको गैरजिम्मेवारी पन भएको बताएको हो।
संघले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘सञ्चारमाध्यममा आएका टिप्पणीकै भरमा स्पष्टिकरणको मौका समेत नदिई मन्त्रीकै निर्देशनमा निर्माणधिन संरचना भत्काईनु भनेको राज्यको गैरजिम्मेवारी पराकाष्ठ हो । सम्झौतामा दुबै पक्षको हस्ताक्षर हो र तोड्दा अबलम्बन गर्नुपर्ने प्रावधानहरु पनि स्पष्टरुपले किटान गरिएको हुन्छ । ती प्रावधान लत्याउने छुट दुबै पक्षलाई नभएको पनि हामी स्मरण गराउँन चाहाँनछौं।’
संघले अहिले बतास समूहमाथी भएको प्रहार सिंगो व्यवसायीमाथीको प्रहार भएको समेत जनाएको छ। संघले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बतास व्यक्ति होइन, व्यवसायी हो । अहिले भएको प्रहार व्यवसायी माथीकै प्रहार हो । लगानी गर्ने, रोजगारी सिर्जना गर्ने तथा राज्यलाई कर तिर्ने व्यवसायीहरुको मानमर्दन र चरित्र हत्या गर्ने प्रवृतिले लगानीको वातावरण बन्दैन भन्नेमा हामी सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चाहान्छौं।’
त्यस्तै, बतास समूहले नारायणहिटी दरबारमा रेष्टुराँ सञ्चालनेखि अन्य विभिन्न स्थानमा गरिएका व्यवसायिक गतिविधीहरु राज्यप्रदत्त व्यापाररव्यवसाय गर्न पाउने क्षेत्राधिकार भित्रै रहेर गरिएको छर्लङग भएको समेत संघले जनाएको छ । राज्यले टेण्डर आह्वान गर्ने, सार्वजनिक निजी साझेदारी अनुरुप निजी क्षेत्रको लगानी खोज्ने र तोकिएका प्रावधान पूरा गर्दै लगानी गरिसकेपछि विभिन्न आरोप प्रत्यारोप लगाउँदै भाजो हाल्ने प्रवृति आफैँमा विरोधापूर्ण र पूर्वाग्रहीबाट प्रेरित भएको संघको ठम्याई छ।
संघले यस्ता गतिविधीहरु तत्काल रोक्न, राज्यबाट भएको ज्यादतीको क्षतिपूर्ति दिन र कानुनी राज्यको प्रत्याभुति गराउँदै सफाइको मौका दिन एवम् व्यवसायीको सम्पतिमाथी पुर्याएको नोक्सानीको क्षतिपूर्तिको लागि माग समेत गरेको छ।