काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा एवं निर्वाचन कार्यक्रम आगामी फागुन अन्तिम साता हुने भएको छ। महासंघको साधारण सभा आगामी फागुन २७ र २८ गते काठमाडौंमा हुने भएको हो।
महासंघले साधारण सभा र निर्वाचन कार्यक्रमका लागि प्रतिनिधि छनौट गरी फागुन २० गते कार्यालय समयभित्र नामावलि पठाउन सबै एशोसिएट सदस्य, प्रदेश महासंघ, जिल्ला निर्माण व्यवसायी संघ तथा वस्तुगत संघहरुलाई आग्रह गरेको छ।
महासंघका अनुसार प्रत्येक प्रदेशबाट अध्यक्ष सहित १५ जना साधारण सभा प्रतिनिधि पठाउनु पर्ने हुन्छ। त्यसैगरी ५० जनासम्म सदस्य संख्या भएको जिल्लाले ३ जना प्रतिनिधि र ५० भन्दा बढी सदस्य भएमा प्रत्येक ५० सदस्य बराबर १ जना प्रतिनिधि तोकी १ जनालाई अनिवार्य प्रतिनिधि हुनेगरी पठाउनु पर्ने महासंघले जनाएको छ।
कम्तिमा ५ जना प्रतिनिधि पठाउने जिल्लाले योग्यता पुगेका महिलामध्येबाट कम्तिमा एक जना महिला प्रतिनिधि पठाउनु पर्ने छ। त्यसैगरी एशोसिएट सदस्यहरुबाट एशोसिएट समन्वय समितिका संयोजक सहित ३९ जना प्रतिनिधि हुने र प्रत्येक वस्तुगत संघबाट एक जना प्रतिनिधि पठाउनुपर्ने महासंघले सूचना जारी गरेको छ।
निर्माण व्यवसायको इजाजत पत्र प्राप्त गरेको कम्तिमा १० वर्ष पूरा भएको, महासंघ वा त्यस अन्तगर्तको संघहरुबाट सदस्यता लिएको कम्तिमा १० आर्थिक वर्ष पूरा भएको कम्पनीमा अवछिन्न ५ वर्ष पूरा गरेको प्राकृतिक व्यक्ति मात्र साधारण सभा सदस्य हुन पाउँने महासंघले जनाएको छ।
नेपाल सरकारले तोकेको पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्ने महासंघ साधारण सदस्यहरुको हकमा निर्माण व्यवसाय इजाजत पत्र प्राप्त गरेको कम्तिमा ५ वर्ष पूरा भएको, महासंघ वा अन्तर्गतका संघहरुको सदस्यता लिएको कम्तिमा ५ आर्थिक वर्ष पूरा भएको कम्पनीमा अवछिन्न ५ वर्ष पूरा गरेको प्राकृतिक व्यक्तिलाई मात्र साधारण सभा प्रतिनिधि चयन गरी पठाउन महासंघले आग्रह गरेको छ।