काठमाडौं। निर्माण व्यवसायीहरुको लापरबाहीका कारण निर्माण कार्यमा ढिलाइ हुने गरेको सांसदहरुले आरोप लगाएका छन्।
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा सांसदहरूले विकास निर्माणका काममा ढिलाई हुने गरेको भन्दै यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका हुन्।
सांसद रंगमती शाहीले निर्माण व्यवसायीहरू पेश्की रकम लिएर जग्गा किन्ने र नाफा कमाउने काममा लाग्ने गरेको बताइन्। उनले भनिन्, ‘निर्माण व्यवसायीहरूले किन थोरैमा ठेक्का लिने गरेका हुन् ? त्यो कुरा रहस्यको विषय भएको छ । आफूलाई घाटा लाग्ने भए ठेक्का लिनु हुन्न।’
उनले निर्माण कार्यमा हुने ढिलाइ र कमसल सामग्रीको प्रयोगको कारण घटीघटाउमा ठेक्का लिइने गरेको दाबी गरिन्।
त्यसैगरी सांसद कमला रोकाले निर्माण व्यवसायीमा जानीबुझी काममा ढिलासुस्ती गर्ने मानसिकता विकास भएको आरोप लगाइन्। उनले सबै निर्माण व्यवसायीलाई एउटै नठानी राम्रो काम गर्नेलाई पुरस्कृत र गल्ती गर्नेलाई कारबाही गर्ने परिपाटी बसाल्नुपर्ने आवश्यकता समेत औँल्याएकी छन्।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐनमा भएका समस्या र सरकार परिवर्तन भइरहँदा आयोजना अगाडि नबढ्ने समस्याका कारण समयमा निर्माणसम्बन्धी काम सम्पन्न हुन नसकेको स्पष्ट पारे ।
उनले भने, ‘राजनीतिक पार्टीहरूले आयोजनाको विस्तृत अध्ययन नगरी दबाब र प्रभावमा अगाडि बढाउँदा पनि समस्या उत्पन्न भएको छ। निर्माणसम्बन्धी काममा समानुपातिक वितरण नहुनुले पनि काममा गुणस्तरीयता नहुने गरेको छ । देशभर १५ हजारभन्दा बढी निर्माण व्यवसायी भएको भए पनि देशभरका करिब ८० प्रतिशतभन्दा बढी काम केही दर्जन निर्माण कम्पनीलाई मात्रै दिइनु पनि अर्को समस्या हो।’
यस्ता समस्या समाधान नभएसम्म विकास निर्माणका काम द्रुतगतिमा हुन नसक्ने अध्यक्ष सिंहको भनाइ छ।