काठमाण्डौं। सरकारले अबको डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत् व्यापारको अनुमति दिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनेसम्बन्धी कार्यविधिको तयारी गरिरहेको भन्दै अबको एकदेखि डेढ महिनाभित्रमा काम सम्पन्न हुने बताएकी छिन्।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधिमण्डलसँग हिजो भएको भेटमा ऊर्जामन्त्री भुसालले अन्तरदेशीय विद्युत् व्यापारमा निजी क्षेत्रलाई अग्रसर गर्ने सोचसहित कार्यविधि तयार भइरहेको जानकारी दिएकी हुन्। “विद्युत् निर्यातमा निजी क्षेत्रलाई सहभागी बनाउने नै हाम्रो सोच हो”, उनले भनिन , “विद्युत् आयात गर्न दिँदैनौँ, तपाईंहरूले गन्तव्य खोजेर निर्यात गर्नुस्”, उनले भनिन।
सरकारले अन्तर्राष्ट्रिय बजारमा निजी क्षेत्रले सिधै विद्युत् बिक्री गर्न सक्नेगरी कार्यविधि तयार गर्ने उनले जानकारी दिइन। उनले विद्युत् उत्पादनमा मात्रै नभई प्रसारणमा समेत निजी क्षेत्रलाई सहभागी गराउने उल्लेख गरिन। मन्त्री भुसालले नेपालमा उत्पादन हुने विद्युत्को मुख्य बजार भारत भएकाले निजी क्षेत्रले पनि भारतमा बजार खोज्नुपर्ने बताइन।
छलफलमा मन्त्री भुसालले अर्धजलाशययुक्त जलविद्युत् आयोजना (पिकिङ रन अफ दि रिभर)को विद्युत् खरिद सम्झौता (पिपिए) नरोकिने पनि बताइन। “केही प्राविधिक कारणले रोकिएका होलान्, हामी अघि बढाउछौँ”, उनले भनिन।
बङ्गलादेश आफ्नो नवीकरणीय ऊर्जाको आवश्यकता पूरा गर्न नेपालबाट विद्युत् आयात गर्न तयार छ। बङ्गलादेशले नेपालमा सुनकोसी–३ जलविद्युत् आयोजना आफैँ निर्माण गरी त्यसबाट उत्पादित विद्युत् आफ्नो देश निकासी गर्ने प्रस्तावसमेत नेपाल सरकारसमक्ष गरेको छ।