तस्बिर : दी साउथ एसियन टाइम्स
काठमाडौं। भारत सरकारले नेपालको जमिन कालापानीमा धमाधम सडक कालोपत्र गर्ने काम गरिरहेको छ। भारतीय सेनाको सडक निर्माण कम्पनी सीमा सडक संगठन (विआरओ) ले सडक कालोपत्र गर्ने काम गरिरहेको हो।
भारतले गत मंसिर १२ गतेदेखि नै कालापानीमा सडक कालोपत्र गर्ने काम गरिरहेको भारतीय पत्रिका हिन्दुस्तानले जनाएको छ।
नेपाली भूमिमा पर्ने गुञ्जी र नाभी गाउँ जोड्ने सडक खण्डमा प्रथम चरणमा कालोपत्रे गरिन लागेको उक्त समाचारमा उल्लेख छ। अतिक्रमित नेपाली भूमिमा गुञ्जीदेखि कालापानी हुँदै नाभीढाँगसम्म २२ किलोमिटर सडक लिपुखोलाको किनारैकिनार बनाइएको छ। लिपुलेक भञ्ज्याङबाट कालापानी हुँदै बग्दै आएको लिपुखोला गुञ्जी दोभानमा वास्तविक महाकालीमा मिसिन्छ।
भारतले आफैंले निर्धारण गरेको नक्कली महाकाली (लिपुखोला)को सीमा समेत मिचेर कालापानीमा लिपुखोलाभन्दा पूर्व समेत अतिक्रमण गरी सुरक्षा क्याम्प राखेको छ ।
गुञ्जी दोभानबाट दक्षिण–पूर्वतर्फ रहेको महाकालीको मुहान लिम्पियाधुरासम्म पुग्ने अर्को सडक पनि भारतले बनाएको छ। कुटी नदी महाकालीको किनारैकिनार २९ किलोमिटर सडक बनाइएको छ। अतिक्रमित नेपाली भूमिमा पर्ने गुञ्जी, नाभी र कुटी तिनवटै गाउँ जोड्ने गरी यो सडक बनाइएको छ।
गुञ्जीदेखि नाभीसम्मको दूरी ४ किलोमिटर र कुटीसम्मको दूरी १७ किलोमिटर छ । सडक कालोपत्रको सुरुवाती यसै सडक खण्डमा गरिएको हो । अन्तिम गाउँ कुटीभन्दा १२ किलोमिटर अगाडि जोलिङकाङक्षेत्रसम्म कच्ची सडकको ट्रयाक खुलाइएको छ । कुटी, नाभी र गुञ्जीमा स्थानीयको वसोवास भए पनि कालापानी, नाभीढाँग र जोलिङकाङमा सुरक्षा क्याम्प राखिएको छ ।