म्याग्दी। बेनी अस्पतालको निर्माणाधीन पचास शय्या क्षमताको भवनका ठेकेदार आठ महिनापछि काममा फर्किएका छन्। गत वैशाख महिनादेखि रोकिएको भवनको निर्माण कार्य अलपत्र परेको अस्पताल निर्माणको काममा ठेकेदार आठ महिना पछी काममा फर्किएका हुन्।
सम्बन्धित कार्यालयले कारबाही प्रक्रिया अघि बढाउनाका साथै नागरिक समाज, राजनीतिक पदाधिकारी , प्रशासनिक क्षेत्र र सञ्चार क्षेत्रबाट भएको दबाबका कारण ठेकेदार काममा फर्किएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए। चौतर्फी दबाब सिर्जना भएपछि ठेकेदार काममा फर्किएका हुन्, उनले भने, “दैनिक ३०/३५ मजदुरले काम गर्न थालेका छन्। अब भवन निर्माणले पूर्णता पाउने आशा पलाएको छ।”
विसं २०७३ मङ्सिर २१ गते महादेव खिम्ती–गल्वा–रफिना जेभीले उक्त भवन निर्माण गर्न रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो। चार हजार ९६३ वर्गमिटर जमिनमा बनाउन लागिएको चारतले तीनवटा भवन विसं २०७६ मङ्सिर २० गते निर्माण सक्ने लक्ष्य थियो। भवनको काम अहिलेसम्म ६० प्रतिशत पुगेको छ।
तीन तला ढलान र प्लास्टर भइसकेको भवनमा टायल राख्ने, रङ्गरोगन, विद्युत्, पानी, फर्निचर जडानलगायत काम बाँकी छन्। कार्यालयले निर्माण व्यवसायीको घरौटी जफत गर्न बैंकलाई र निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न चेतावनीसहितको पत्र पठाएको थियो। साझेदारीमा काम गरेका तीनवटै निर्माण व्यवसायीको लेनदेन विवादले भवन निर्माणमा असर परेको थियो।
अस्पताल भवन निर्माण अलपत्र परेपछि यस स्थानका स्थानीय लगाएत कर्मचारी पनि समस्यामा परेका छन्। बहिरङ्ग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ। आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ।
भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा इमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेसन थियटर, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ।
निर्माण कम्पनीका प्रतिनिधि रविन जोशीले पुरानो भवन भत्काउन, रूख कटान र ढुवानीका लागि सडक बनाउन समयमै अनुमति पाउन भएको ढिलाइले सम्झौता गरेको एक वर्षपछि मात्र काम सुरु गर्न पाएको बताए।