काठमाडौं। मेलम्चीको खानेपानी वितरणका लागि लगभग १ हजार २ सय २० किलोमिटर वितरण सञ्जाल तयार भएको छ। काठमाडौं उपत्यकाबासीको घर–घरमा खानेपानी उपलब्ध गराउनका लागि खानेपानीको नयाँ वितरण सञ्जाल तयार भएको हो।
काठमाडौं उपत्यकाको चक्रपथभित्र विभिन्न क्षेत्रमा गरी १ हजार २ सय २० किलोमिटर नयाँ खानेपानी पाइपलाइन बिछ्याउने काम सम्पन्न भएको छ। यसबाट ती क्षेत्रका करिब एक लाख घरधुरीमा खानेपानीको नयाँ पाइपलाइन पुगेको छ।
काठमाडौं उपत्यकाको चक्रपथभित्र खानेपानी सञ्जाल सुधार एवम् विकास गर्ने क्रममा बाँकी रहेका क्षेत्रहरू र चक्रपथ बाहिरका विभिन्न स्थानमा समेत नयाँ खानेपानी पाइपलाइन बिछ्याउने कार्यलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ।
काठमाडौंको चपक्रपथभित्रका गोंगबु, म्हेपी, नयाँबजार, स्वयम्भु, बाफल, कलंकी, कालीमाटी, सोल्टीमोड र डल्लु क्षेत्रमा गरी २२४ किलोमिटरमध्ये ५० किलोमिटर र बसुन्धरा, बालुवाटार, धुम्बाराही, रानीबारी, कपुरधारा, सामाखुशी, उत्तरढोका, लाजिम्पाट, गौरीघाट, महाराजगञ्ज, विशालनगर, सुकेधारा, चाबहिल, लैनचौर र हाँडीगाउँ क्षेत्रमा गरी २४९ किलोमिटरमध्ये ६० किलोमिटर खानेपानी वितरण पाइपलाइन बिछ्याइएको छ। यसबाट ती क्षेत्रका ५३ हजार १०६ घरधुरीमध्ये ११ हजार ६२८ घरधुरीमा खानेपानीको नयाँ पाइपलाइन पुगेको छ।
काठमाडौंको चक्रपथ बाहिरका मण्डिखाटार, कपन, गल्फुटार, चाबहिलको बाहिरी भाग र तीनचुली लगायतका क्षेत्रमा २ सय ९० किलोमिटरमध्ये हाल ६४ किलोमिटर पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएको छ। ती क्षेत्रका ९ हजार ७ सय ७६ घरधुरीमध्ये ४ हजार ३६ घरधुरीमा खानेपानीको नयाँ पाइपलाइन पुगेको छ।
वितरणका लागि खानेपानी भण्डारण गर्न काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ७ हजार ५ सय घनमिटर क्षमताका १० वटा ठूला खानेपानी भण्डारण ट्याङ्कीको निर्माण सम्पन्न भएको छ।