काठमाडौं। कर्णाली, तातोपानी गाउँपालिका–६ जुम्ला हियाँखोला निवासी ६० वर्षीय विष्णुदेवी रोकायले जग्गादान गरेको चार वर्ष बितिसक्दा पनी अस्पताल निर्माण भएको छैन। एक साहाराविहिन अवस्थामा रहेकी महिलाले चार वर्ष अघि अस्पतालको लागी दिएको जग्गामा अस्पताल निर्माण हुन नसकेको हो।
उनि १३ वर्ष देखि एकल जिवन बिताइरहेकी छिन्। पारिवारिक वेदना र समाजको अपहेलनाले रोकाय सामाजिक, मानसिक र शारीरिकरुपले अस्वस्थ बन्दै गएकी छन्। रोग र शोकले थलिएकी रोकायलाई जीवनमा एकपछि अर्को पीडा थपिरहे। अस्पतालको सुविधा नभएकै कारण २०५३।५४ तिर दुःख गरेर हुर्काइसकेका एक छोरा एक छोरी बिरामी हुँदा राम्रो उपचार नपाएरै बिते । उनीहरुको मृत्युले पारेको पीडा नसकिँदै २०५८ सालमा १८ वर्षको छोरा छक्क रोकायको पनि मृत्यु भयो।
छोराको पीडा नसकिँदै २०६६ सालमा श्रीमान् नरबहादुर रोकायको मृत्यु भयो। सानो छँदै छोराछोरी मरे। ती मरेका लालाबालाबाट लागेको पीडाको घाउ नमेटिँदै ठूलो छोरा बित्यो,” गहभरिको पीडा ओकल्दै उनले भनिन्, पछि आएर आफ्नो जीवनसँगीले नै छोडेर गएपछि १३ वर्षदेखि एक्लो जीवन बिताइरहेकी छु। एक्लो भएर होला, समाजबाट पनि निकै अपमान खेपिरहेकी छु।
अपमान सहेर एक्लै बस्दा कोही छिमेकीको सहयोग पाउन नसकेको बरु आफूमाथि कुटपिट भएको उनले पीडा पोखीन्। “पीडाकै बीचमा मेरा छोराछोरी छैनन् अब त्यो जग्गा के गर्दा ठीक होला भनेर मनमा कुरा खेलाए”, उनले भनिन्, “अनि सोचे कि पछि जन्मने पनि त मेरा छोराछोरी जस्तै हुन्। उनीहरुको उपचार गर्ने अस्पतालका लागि यो जग्गा दिनुपर्छ।”
श्रीमान् नरबहादुर र छोरा छक्क रोकायको सम्झनामा गाउँ सरकारलाई जग्गादान गरेको उनले बताइन्। जग्गादान गरेको चार वर्षपछि मात्र आधिकारिक रुपमा गाउँ सरकारका नाममा गएपछि रोकायलाई अलि चित्त बुझेको छैन।
गरिब, दुःखीहरुको मुक्तिका लागि युद्ध लडेको छोराले आफ्नो बलिदानपछि सम्पूर्ण जग्गा पार्टीकै नाममा गर्नु आमा भनेकाले विशेषगरी उसकै योगदानको स्मरणमा सुरुमा नेकपा माओवादी पार्टीका नाममा जग्गादान गर्न खोजेको उनले बताइन्। तर पछि पार्टीभन्दा पनि सबैले त्यसको लाभ लिन सकून् भनेर सोही वडाको रु ३८ लाख ८२ हजार ६०० बराबरको जग्गादान गाउँ सरकारलाई गरिएको उनले बताइन्।
आफ्नो परिवारका सन्तान कोही नहुँदा वरिपरिकाले जग्गामाथि अहिले पनि आँखा गाडिरहेका छन् तर उनको संरक्षण गर्ने मान्छे कोही छैनन्। अहिले रोकाया तातोपानी गाउँपालिका–५ निवासी लक्ष्मण पाण्डेसँग आश्रय लिएर बसेकी छन्। रोकायले भनिन्, “मेरै ठाउँमा बनाइदिएको भए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई आवश्यक जग्गा दिने योजना थियो। तर त्यो मेरो धोको पूरा भएन। त्यो नभए पनि भोलिका दिनमा मेरा छोराछोरी जस्तो उपचार नपाएर कोही कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर आउँदो पुस्ताको स्वस्थ र सुरक्षित जीवनमा सहयोग पुगोस् भनेर भूमिदान गरेकी छु।”
‘म छँदै अस्पताल बनेको हेर्ने धोको छ’ एकल महिला विष्णुदेवी रोकाय ज्वरो र कपाल दुख्ने रोगबाट गत साउनमा निकै थलिएकी थिन्। उनलाई त्यतिबेला बाँचुला भन्ने आशा हराएको थियो। सौभाग्यवशः उनी बाँच्न सफल भइन्। अहिले भने आँखा देख्न नसक्ने रोगले उनी ग्रसित छिन्। आँखा देख्न छोडेपछि यतिबेला रोकाय कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आँखाको शल्यक्रिया गर्न पुगेकी छन्। साहाराविहीन उनलाई तातोपानी–६ हाँकु जुम्लाका स्थानीयवासी लक्ष्मण पाण्डेले नै उपचारमा सघाएका छन्।