काठमाडौं। खोटाङमा पाँच स्वास्थ्यचौकीको भवन निर्माणको काम ७ महिनादेखि अलपत्र परेको छ। खोटाङका विभिन्न तिन वटा नगरपालिका र २ वटा गाउँपालिकामा गरी पाँच वटा स्थानमा स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र परेको हो।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे र ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलस्थित स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र परेको हो।
गौरी पार्वती–न्यू टेक्नीकल जेभी, ललितपुरले भ्याट सहित ७ करोड ४० लाख, ८४ हजार २९६ रुपैयाँमा काम पुरा गर्नेगरी स्वास्थ्यचौकीको डेढ तले भवन निर्माणको ठेक्का लिएको थियो। अहिलेसम्म स्वास्थ्यचौकी दोर्पाचिउरीडाँडा, मंगलटार, बतासे र राखाबांदेल स्वास्थ्यचौकी भवनको स्ट्रक्चरको काम सकिए पनि बाहुनीडाँडा स्वास्थ्यचौकीको काम अझै सुरु भएको छैन।
असार मसान्तसम्म काम भयो। केही भवनको प्लास्टर पनि गरिएको छ। सोहीअनुसार भुक्तानी पनि भयो तर, त्यस यता भवन निर्माणको काम बन्द भएका स्थानीयको गुनासो छ। मुख्य ठेकेदारले दोस्रो ठेकेदार र दोस्रोले तेस्रो ठेकेदारलाई भवनको काम छाडेकाले भवनको काम अलपत्र परेको कार्यालयले जनाएको छ।
गत १ असोजदेखि पुनर्निर्माण प्राधिकरण अन्तरगतको भवनको जिम्मेवारी सघन सहरी विकास तथा भवन निर्माण आयोजनामा सरेपछि स्वास्थ्यचौकी भवन निर्माणको काममा समस्या आइपरेको निर्माण कम्पनीको दाबी छ।