काठमाडौं। नगर विकास कोषले काठमाडौंमा बहुतले मेकानिकल पार्किङमा लगानी गर्न प्रस्ताव आह्वान गरेको छ। नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमुलक आयोजना संचालन गर्दै आएको कोषले उपत्यकामा हुने अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न यो योजना ल्याएको हो।
यस परियोजनामा लगानी गर्नका लागि काठमाडौं महानगरपालिका भित्र कम्तीमा आठ आनाभन्दा बढी क्षेत्रफल भएको जग्गा हुनुपर्ने छ । आयोजना निर्माण गर्न इच्छुक स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाहरुले १५ दिन भित्र आवश्यक कागजातसहित विकास कोषको कार्यलयमा पेश गर्नु पर्ने बताइएको छ।
काठमाडौंका थापालथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कलंकी, कुलेश्वर, बल्खु, लगायतका मुख्य व्यावसायिक सडक छेउहरु वा दोहोरो प्रवेशमार्ग भएको भित्रि जग्गाहरुमा पार्किङस्थल निर्माण गर्न सकिने कोषले जनाएको छ ।
प्रस्ताव पेश गर्नका लागि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि, नापी नक्साको सक्कल प्रति, संघ संस्थाको नविकरण सहितको प्रमाणपत्रको प्रतिलिपि, प्रस्ताव पेश गर्ने संस्थाको आधिकारिक निर्णय आवश्यक पर्ने छ ।