काठमाडौं। कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरका सबै वडामा कार्यालय भवन निर्माण कार्य अघि बढाएको छ। नगरपालिकाले आफ्नै कार्यायल भवनमार्फत सेवा दिन भौतिक संचना निर्माणमा जोड दिएको हो।
नगरपालिकाले स्थानीय सरकारको नेतृत्वपछि भाडाका घरमा वडा कार्यालय सञ्चालन गरे पनि अहिले अघिकांश वडाको भवन निर्माण भइसकेका छन्। नगरका ९ वडामा कार्यालय भवन निर्माण भइसकेका छन्। नगरपालिकाको वडा नं २, ६, ८, १२, १३, १५, १६, १७ र १८ को कार्यालय भवन निर्माण गरी सञ्चालनमा आइसकेका छन्।
त्यसैगरी वडा नं १, ४, ५, ७ र ११ को कार्यालय भवन निर्माण पनि अन्तिम चरणमा रहेको बताइएको छ। वडा नं ३, ९, १०, १४ र १९ को कार्यालय भवन शिलान्यास भई निर्माणाधीन अवस्थामा छन्। शुक्रवार मात्रै नगर प्रमुख सुरेन्द्र विष्टले वडा नं ९ को कार्यालय भवन शिलान्यास तथा वडा नं १३ को कार्यालय भवनको उद्घाटन गरेका थिए। नगर प्रमुख विष्टले सबै वडामा आफ्नै कार्यालय भवन निर्माण गर्ने नगरपालिकाको योजना सफल भएको बताए।
सबै वडाको कार्यालय भवव निर्माण अघि बढेको छ, कतिपय सम्पन्न समेत भएर सेवा प्रवाह शुरू गरिसकेका छन्। कार्यालय भवन निर्माण भएपछि सेवा प्रवाहमा नगरवासीलाई सहज हुने विश्वास गरिएको छ। कार्यालय भवन करिब १ करोड ५० लाखको लागतमा निर्माण भइरहेका छन्।