काठमाडौं। महाकाली राजमार्गको विकल्पका रुपमा गत वर्षबाट दार्चुलामा निर्माण सुरु भएको घोरेटो बाटो चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ। व्यास गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी घोरेटोको निर्माण सुरु गरिएको हो।
सरकारले महाकाली राजमार्ग सम्पन्न गर्न लामो समय लाग्ने देखिएकाले तत्कालका लागि स्थानीयवासीको पहुँच पुर्याउन घोरेटो बाटो निर्माण सुरु गरिएको थियो। गत आवमा ठेक्का भएको सो घोरेटोको निर्माण चालू आवमा सुरु भएको हो। यही आवमा सकाउनु पर्नेमा अन्यत्र काम भइरहे पनि केही खण्डमा कठीन चट्टानका कारण समस्या रहेको छ।
उक्त सडकको निर्माण सम्पन्न भएपछी व्यास गाउँपालिकाको छाङ्गरु, तिङ्कर, दुम्लिङ, कल्जु, माल लगायतका स्थानका बासिन्दालाई सुविधा पुग्ने जनाइएको छ। स्थानीयवासीलाई जिल्ला सदरमुकामसम्म पुग्न भारतीय भूमि पुग्नुपर्ने बाध्यता हट्ने बताइएको छ।
अहिले घोरेटो निर्माण भइरहेको ठाउँ महाकाली किनारमा भिरमा रहेको छ। यसको लम्बाइ झण्डै २६ किमी रहने बताइएको छ। छब्बिस किमी मध्ये पनि कतिपय खण्डमा विगतदेखि नै राम्रो अवस्थामा भइरहेकाले अहिले थप काम गर्न नपर्ने बताइएको छ।
घोरेटो नियमित सञ्चालनका लागि दुई पुल पनि निर्माण हुँदैछ। ठाउँठाउँमा पर्खाल हुनेछन् भने कतैकतै कटिङ गरेर विस्तार गरिने छ। नेपाल–भारत सीमा हुँदै चीनको सीमामा पर्ने लिपुलेकसम्म पुग्ने सो घोरेटो बाटोको बजेट जम्मा रु चार करोड रहेको छ।
खासगरी दार्चुलाका दुर्गम क्षेत्रका नागरिक यसबाट लाभन्वित हुने अपेक्षा गरिएको छ।दार्चुला–टिङ्कर सडकको निर्माणमा ढिलाइ भइरहेकाले पनि घोरेटो बाटो चाँडो सम्पन्न गर्नुपर्ने स्थानीयवासी बताउँदै आएका छन्। गत कात्तिकमा प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्का नेतृत्वको टोली स्थलगत अवलोकनका लागि पुगेको थियो। समितिले त्यस क्षेत्रमा बाटोको पहुँच नपुग्दा स्थानीय वासीलाई कठीनाइ भएको जनाएको छ।