काठमाडौं। नेपाल विद्युत प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) प्रतिस्पर्धाबाट गर्ने भएको छ। प्राधिकरण सञ्चालक समितिको आइतबारको बैठकले सोलारको विद्युत् खरिद गर्दा आधार दर तोकेर प्रतिस्पर्धाबाट मात्रै पीपीए गर्ने निर्णय गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोलारबाट उत्पादित ऊर्जालाई सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन पिपिए प्रतिस्पर्धा गर्ने निर्णय लिइएको बताइन। उनले भनिन्, ‘जनतालाई सहुलियत दरमा विद्युत उपलब्ध गराउन, विद्युत खरिदलाई प्रतिस्पर्धी तथा पारदर्शी बनाउँदै लैजानुपर्छ, सोलारमार्फत हामीले यसको सुरुवात गरेका छौँ।’
पछिल्लो विकसित प्रविधिअनुसार सोलारबाट विद्युत् उत्पादन लागत कम हुँदै गएको उल्लेख गर्दै भुसालले यसअघिको निर्णयअनुसार पनि तीन वर्षमा सोलारको पिपिए दर पुनरावलोकन गर्नुपर्ने बताइन्।
कार्यकारी निर्देशक कुलमान घिसिङले अब सोलार आयोजनाको पीपीए प्रतिस्पर्धाका आधारमा मात्रै हुने बताए। उनले भने, ‘न्युनदर प्रस्ताव गर्ने आयोजनाको पीपीए प्राधिकरणले गर्छ। त्यसका लागि आधार दर पनि तोक्ने निर्णय भएको छ । बेसरेट तोक्न समिति गठन गरिएको छ ।’
यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०७४ माघमा स्वीकृत ग्रिड कनेक्टेड वैकल्पिक विद्युत ऊर्जा विकाससम्बन्धी कार्यविधि २०७४ मा उल्लेखित वैकल्पिक सौर्य र वायु ऊर्जाको विद्युत् खरिद दर प्रतियुनिट ७ रुपैयाँ ३० पैसा तोकिएको थियो । तीन वर्षका लागि तोकिएको उक्त दर अब परिमार्जन गरेर आधार दर तोक्ने तयारी प्राधिकरणले गरेको हो । आधार दर पीपीएको अधिकतम दरका रुपमा रहन्छ । यो दरभन्दा माथि पीपीए प्रस्ताव गर्ने आयोजनाहरु स्वत अस्वीकृत हुनेछन् ।