काठमाडौं। अन्नपूर्ण पर्यटकीय क्षेत्रको अन्नपूर्ण आधार शिविरको पदमार्गमा पूर्वाधार थपिँदै गएको छ। पदमार्ग स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बन्दै गएपछि पर्यटकीय पूर्वाधार बन्ने क्रम बढेको हो।
विश्वका १० उत्कृष्ट पदमार्ग मध्येमा पर्ने अन्नपूर्ण पर्यटकीय क्षेत्रको रुपमा विकसित हुँदै गएको छ। चार दशक अघि सो क्षेत्र जानुपर्दा पर्यटकले यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नु पर्ने बाध्यता थियो । अहिले भने परम्परागत सुविधा सम्पन्न होटेल बनेका छन् भने पूर्वाधार थपिने क्रम जारीनै छ। एक वर्ष अघिसम्म सो पदमार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा २६ होटेल चलेकोमा हाल ती स्थानमा होटेल सहितका पूर्वाधार थपिएका छन् ।
अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) द्वारा विसं २०४३ देखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार प्रत्येक होटलमा छका दरले १५६ वटा कोठा रहेका थिए । पदमार्ग क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गर्दै विद्यमान होटेलमा क्षमता विस्तारसँगै पूर्वाधार थपका लागि अध्ययन गर्न अन्नपूर्ण गाउँपालिकाले तीन वर्षअघि समिति बनाएर त्यसलाई व्यवस्थित गर्ने प्रयास गरेको स्थानीय बताउँछन्।
गाउँपालिका वडा नं १० र ११ का सरोकारवाला सम्मिलित समितिले पूर्वाधार थपलगायत विषयमा अध्ययन गरेको थियो । उक्त क्षेत्रमा टाढापानी–मुल्डे–हिडनलेक हुँदै छोम्रोङसम्मको अर्को पदमार्ग पनि सञ्चालनमा आएको बताइएको छ। पदमार्गमा पर्ने चार हजार ३०० मिटर उचाइको हिडन लेक अर्को महत्वपूर्ण आकर्षण हो । उचाइमा भएका कारण जाडोमा जमेर बरफ बन्ने तथा गर्मीमा पग्लने भएका कारण कहिले देखिने त कहिले नदेखिने हुन्छ ।
पदमार्ग क्षेत्रका अन्नपूर्ण आधार शिविरमा पहिला चारवटा होटेल रहेकोमा अहिले दुईवटा थपिएका छन् । माछापुच्छ्रे आधार शिविरमा पहिला पाँच वटा रहेकोमा अहिले एउटा थपिँदैछ । हिमालयमा यस अघि दुईटा होटेल रहेकोमा एउटा थपिएको छ । देउरालीमा चार रहेकोमा अहिले एउटा थपिएको छ । दोभानमा तीनवटा रहेकोमा दुई थप भई पाँचवटै होटेल सञ्चालनमा आइसकेका छन् ।