पाल्पा। रिब्दीकोट गाउँपालिकाले पछिल्लो समयमा सुचना प्रविधिको अत्यधिक मात्रामा प्रयोग गरी घरघरमा इन्टरनेट जडान तथा स्मार्ट सुचना केन्द्रको निर्माण गरी घर तथा टोलबाटै सरकारी सेवा उपभोग गर्न थालेको छ। सरकारी सेवा सुविधाको प्रयोग, स्थानीय उत्पादनको बजारीकरण, विकास निर्माणको गतिविधि, कला संस्किृतिको संरक्षण आदिको इन्टरनेटको प्रयोग गरेर गर्न थालिएको हो।
इन्टरनेट जडान पश्चात ग्रामीण बस्तीका स्थानीयहरुलाई सदरमुकाम तथा सरकारी कार्यालय धाउन पर्ने झन्झट हटेको छ। जसले गर्दा स्थानीयको समय साथै पैसाको पनि बचत भएको छ। उक्त कार्यले स्थानीय उत्साहित भएका छन्। घरमा इन्टरनेटको पहुँच नहुनेह्ररुको लागि पनि गाउँपालिकाको पाएक पर्ने ठाउँमा स्मार्ट सुचना केन्द्र स्थापना गरीएको छ, जसबाट उनिहरुले सेवा प्राप्त गदै आएका छन्। उक्त गाउँपालिकामा अहिलेसम्म ८ वटा सुचना केन्द्र स्थापना साथै ३०० घरपरिवारले इन्टरनेट जडान गरीसकेका छन्।
ग्रामिण क्षेत्रमा इन्टरनेट जडान गर्न १० हजार भन्दा धेरै लाग्ने भएको कारणले गर्दा प्रतिपरिवारलाई ५ हजार अनुदान पनि दिइएको छ। इन्टरनेट पहुँच नभएकाहरुलाई पनि सुचना केन्द्रमा गएर सुचना लिन सजिलो भएको छ साथै घरभन्दा बाहरि रहेका सदस्यहरुसँग कुराकानी गर्न पनि सुविधा भएको स्थानीयको भनाइ रहेको छ। विधार्थीहरुले पनि कोभिडको बेला घरबाट नै अनलाइनको माध्यमबाट पढ्न पाएका छन्।
उक्त सुचना केन्द्रबाट फोटोकपी, प्रिन्टिङ, स्क्यानीङ, जन्मदर्ता, मृत्युदर्ता,योजना फरफारकमा सहजीकरण, मोबाइल र टिभीको रिचार्ज,सुचना तथा विज्ञापन, रकम ट्रान्सफर हवाई टिकट, विल भुक्तानी आदि सेवाहरु उपभोगमा सहज भएको छ। गत आर्थिक वर्षमा १२ लाख बजेट विनियोजन गरेर स्मार्ट टोल निर्माण गरिएको थियो। ग्रामीण बस्तीमा इन्टरनेट जडान आर्थिक रुपमा बोझिलो भएता पनि इन्टरनेट जडान पश्चात स्थानयिबासीको खर्चमा कमी आउने दावी रहेको छ।