काठमाडौं। नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम समयमै सक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजनालाई निर्देशन दिएको छ। बिहीबार कार्यालयका तीन सचिवले सुरुङमार्गको स्थलगत निरीक्षण गर्दै तोकिएकै समयमा काम सक्न निर्देशन दिएका हुन्।
कार्यालयका आर्थिक तथा पूर्वाधार विकास सचिव शिशिरकुमार ढुंगाना, सचिवहरू यामकुमारी खतिवडा र लक्ष्मण अर्यालले सुरुङमार्गको निरीक्षण गर्दै निर्माणमा देखिएका समस्याबारे जानकारी लिएका थिए ।
सर्भिस सेन्टर निर्माण गर्ने स्थानमा पर्ने पाँच वटा घरबारे अख्तियारले छानबिन गरिरहेकाले त्यसलाई चाँडो टुंग्याउनुपर्ने र मुआब्जाका लागि पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने माग आयोजनाको रहेको सचिव ढुंगानाले बताए । त्यस्तै काठमाडौंतर्फ गुठीको जग्गामा रकम कम भएको गुनासो आएकाले यसलाई समाधान गरिदिन आयोजनाले माग गरेको उनको भनाइ छ । यी समस्या समाधान गर्न आइतबार नै बैठक गरी सम्बन्धित मन्त्रालयलाई बोलाइने उनले जानकारी दिए ।
सचिव ढुंगानाले भने, ‘अहिले सुरुङ निर्माणको काम भइरहेको छ। तोकिएकै समयमा काम सक्ने दाबी निर्माण पक्षको छ। तोकिएकै समयभित्र काम हुनुपर्छ । काम गर्दा के–के समस्या आइपर्छन्, त्यो समाधान गर्न प्रधानमन्त्री कार्यालय तयार छ ।’
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा मुआब्जाको समस्या अझै टुंगिएको छैन । काठमाडौंतर्फ सुरुङको भौतिक संरचना निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा नटुंगिँदा थप काम अघि बढ्न सकेको छैन ।सुरुङका लागि बलम्बु क्षेत्रमा १२ रोपनी जग्गा आवश्यक छ, जहाँ फ्लाइओभरका दुई वटा फाउन्डेसन निर्माणको काम मात्र भएको छ । जग्गाको मुआब्जा टुंग्याएर रकम दिन नसक्दा थप काम अघि बढ्न सकेको छैन । मुआब्जाका लागि मात्र सवा अर्ब रुपैयाँ चाहिनेछ ।
चालु आर्थिक वर्षमा डेढ करोड रुपैयाँ मात्र बजेट विनियोजन हुँदा मुआब्जा दिन नसकिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ । सडक विभागको स्रोतबाट अर्थ मन्त्रालयलाई मुआब्जा दिनकै लागि ३० करोड रुपैयाँ रकमान्तर गर्न लगाइएको आयोजनाले जनाएको छ।