खोटाङ। जिल्लाका कुल घरधुरीमध्ये आधा घरमा पनि केन्द्रीय प्रसारण लाइनको विद्युत पुग्न सकेको छैन। जिल्लामा रहेका करिब ४२ हजार ६ सय ६४ घरधुरीमध्ये माघ ८ गतेसम्मको तथ्यांकअनुसार २० हजार ७ सय ८९ घरधुरीमा मात्र केन्द्रीय प्रसारण लाइनको विद्युत पुगेको छ।
दुई नगरपालिका र आठ गाउँपालिका गरी जिल्लामा १० स्थानीय तह छन् । १० वटा स्थानीय तहका कार्यालयमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुगिसकेको छ भने कतिपय वडा कार्यलयमा अहिलेसम्म विद्युत पुगेको छैन। जिल्लाको रावाबेंसी गाउँपालिकामा सबैभन्दा धेरै घरधुरीमा विद्युत विस्तार भएको छ । गाउँपालिकाको वडा नम्बर ३ लामीडाँडाका केही घरधुरीमा मात्र विद्युत विस्तार हुन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर–९ निर्मलीडाँडाका केही घरधुरीमा र वडा नम्बर–१० पाथेकामा विद्युत विस्तार हुन बाँकी रहेको र विस्तारको काम धमाधम भइरहेको छ ।
यस्तै हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र साकेला गाउँपालिकाका अधिकांश घरधुरीमा विद्युत पुगेको छ भने नपुगेका घरमा विस्तार गर्ने काम भइरहेको छ । ऐंसेलुखर्क र खोटेहाङ गाउँपालिकाका करिब आधा घरधुरीमा मात्र विद्युत पुगेको छ । केपिलासगढी, जन्तेढुंगा र वराहपोखरी गाउँपालिकाका केही भू–भागमा मात्र विद्युत विस्तार भएको बताइएको छ ।
जिल्लाका सबै घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार गर्ने गरी नयाँ योजनाको काम सुरु हुने प्रक्रियामा छ भने केही ठाउँमा विद्युत विस्तार कार्य भइरहेको छ । जिल्लाका सबै घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुग्न भने अझै तीन वर्ष लाग्न सक्ने दिक्तेल वितरण केन्द्रले जनाएको छ।
हालसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत नपुगेका अधिकांश ठाउँमा स्थानीय हाइड्रोपावरमार्फत उत्पादित विद्युत नागरिकले प्रयोग गर्दै आएका छन् । केही ठाउँमा अझै पनि नागरिक सोलार बत्ती प्रयोग गर्न बाध्य छन् ।