रुपन्देही। बुटवल उपमहानगरपालिकामा धमाधम वडा कार्यालय निर्माण र पुनःनिर्माण हुन थालेको छ । स्थानीय निकायको सेवालाई सहज र छरितो बनाउन पूर्वाधारण निर्माणमा जोड दिन थालिएको हो।
बुटवलको दीपनगरमा पुनःनिर्माण र मर्मतसम्भार गरेर वडाको संरचना नयाँ स्वरुपको बनाइएको छ । वडा नं ७ को पुनःनिर्माण गरिएको भवनबाट सेवा शुरु भएको छ ।
उपमहानगरका प्रमुख शिवराज सुवेदीले पुनःनिर्माण भएको भवनको शुभारम्भ गर्दै वडाबाट हुने सेवालाई सहज, छरितो र प्रभावकारी बनाउन आग्रह गरे।
टोलस्तरबाट छलफल भएर वडास्तरका र वडाबाट छलफल भएर नगरस्तरका योजना बनेका र छलफलबाट नगरको सहरी विकास गुरुयोजना तय भएको उनको भनाइ छ ।
वडाध्यक्ष कमलप्रताप थापाले आफूहरु नागरिकका लागि सेवक भएर र वडालाई सेवा केन्द्रका रुपमा विकास गरेर सेवा प्रवाह गरिरहेको र अब अझ प्रभावकारी सेवा गर्ने प्रतिवद्धता जनाए ।
करिब ३२ लाखमा सो वडा भवन पुनःनिर्माण भएर सेवा सुरु गरिएको वडाका सचिव राजु लामिछानेले जानकारी दिए ।
त्यस्तै उपमहानगरको वडा नम्बर ८ को नयाँ भवन निर्माण प्रक्रिया सुरु भएको छ । सडक डिभिजन परिसरमा रहेका पुराना र जीर्ण कर्मचारी आवासलाई हटाएर नयाँ आवासगृह निर्माण गर्न लागिएको हो ।
करिब ४८ लाखमा प्रतिपरिवार चार कोठासहितको छ आवास गृह र एउटा योग हल निर्माण हुने गरी जग्गा हस्तान्तरण गरिएको वडा ८ का अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए ।
सहरको बीच भागमा र धेरै जनघनत्व रहेको वडाका रुपमा रहेको वडा नं ८ को व्यवस्थित र आधुनिक नयाँ भवन निर्माण हुने छ । वडा कार्यालयका लागि आवश्यक जग्गा भोगाधिकारसहित उपमहानगर मातहतमा आइसकेको बताइएको छ ।
जम्मा १९ वडा रहेको बुटवल उप महानगरपालिकामा यसअघि वडा नं १० को भवन निर्माण भएको छ र वडा नं २ को पनि पुनःनिर्माण हुने तयारीमा छ ।