काठमाडौं। संखुवासभा जिल्लामा खानेपानीको चरम अभाव भएपछि चैनपुर नगरपालिकाका विभिन्न गाउँका १४ परिवार तराई झरेका छन्। खानेपानीकै अभाव भएपछी उनिहरु बसाइँ सर्न बाध्य भएका हुन्।
खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका–१० का विभिन्न गाउँका १४ परिवारले गाँउ छाडेर तराई झरेका छन्। वर्षौंदेखि खानेपानी अभाव खेपिरहेका उनीहरू बसाइँ सरेका हुन्।
गाउँमा पानीको मुहान नहुँदा पिलुवा खोलाको धमिलो पानी ल्याएर उपयोग गर्न बाध्य भएका स्थानीय बताउछन्। त्यहाँ पानी लिन जाँदा २ घण्टा भन्दा बढी समय लाग्छ। सल्लेरी, कल्लेरी, इम्खुवा, झिलझिले, साल विसौना र मलाटेलगायत गाउँमा खानेपानीको चरम अभाव भएपछि स्थानीय बसाइँ सर्न बाध्य छन्।
चैनपुर नगरपालिकाका करिब २५ सय घरधुरीलाई खानेपानी अभाव रहेको छ। खानेपानीको चरम अभाव भएको चैनपुर–१० मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, चैनपुर नगरपालिका र युनाइटेड वर्ल्ड स्कुल्स नेपाल संखुवासभाको संयुक्त लगानीमा गत पुसमा लिफ्टिङ खानेपानी शिलान्यास भएको छ।
खानेपानी आयोजना शिलान्यास भएपछि कल्लेरी, इम्खुवा, साल विसौना, सल्लेरी, झिलझिले लगायतका स्थानीयले खुसी व्यक्त गर्दै चाँडै बनाउन अनुरोधसमेत गरेका छन्।