काठमाडौं। पाँचथरमा १० मेगावाटको काबेली ‘बी’–१ क्यासकेड आयोजनाको निर्माण कार्य पूरा भएको छ। आयोजना निर्माण शुरु भएको करिब २० महिना अवधिमा निर्माण सम्पन्न भएको हो।
निर्माण पूरा भइसकेको आयोजनाको एक सातादेखि सिभिल संरचनामा पानी हालेर परीक्षण भइरहेको छ।
प्रवद्र्धक अरुण भ्याली हाइड्रो डेभलपमेन्ट कम्पनीका अनुसार आयोजनामा जडान भएका हाइड्रोमेकानिकल उपकरणको पनि परीक्षण एकसाथ भइरहेको छ । आन्तरिक परीक्षणको चरण पूरा हुन करिब १ महिना लाग्ने कम्पनीले जनाएको छ।
आयोजनाको संरचनाको अवस्था परीक्षण भइसकेपछि नै आयोजनाबाट विद्युत उत्पादन सुरु गर्न सकिन्छ । आयोजनाको सबै परीक्षण पूरा गरेर विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने कम्पनीले जानकारी दिएको छ ।
आयोजनाबाट गत असोजमा नै विद्युत उत्पादन गर्ने तालिका बनेको भए पनि कोरोना ९कोभिड–१९० महामारीले निर्माण अवधि लम्बिँदा आयोजनाको विद्युत उत्पादनको मिति पनि धकेलिन पुगेको हो ।
यो आयोजना २५ मेगावाटको काबेली–‘बी’–१ को क्यासकेड आयोजना हो । काबेली–‘बी’–१ को विद्युतगृहबाट विद्युत उत्पादन भई निकास हुने पानीको उपयोग यो आयोजनाबाट विद्युत उत्पादन हुनेछ ।
काबेली–‘बी’–१ ले छोडेको पानी यो आयोजनाको विद्युतगृहसम्म पठाउन १२ सय मिटरको कंक्रिट नहर र साढे १२ सय मिटर लामो ‘लो प्रेसर’ पेनस्टक पाइप राखिएको छ । आयोजनाको विद्युतगृहमा जर्मनीको डब्ल्युकेभीले उत्पादन गरेका इलेक्ट्रोमेकानिकल उपकरण जडान गरिएको छ ।
आयोजनाको विद्युत प्रवाह गर्न प्रसारण लाइनको समस्या छैन । आयोजनाले उत्पादन गर्ने विद्युत १३२ केभी काबेली कोरिडोर प्रसारण लाइनको अमरपुर सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।