बुटवल। बुद्ध जन्मस्थल लुम्बिनीदेखि चीनको तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरलासम्मको क्षेत्रलाई समेटेर पर्यटकीय करिडोर बनाउन अध्ययन सुरु गरिएको छ। यस करिडोरले रुपन्देही, पाल्पा, गुल्मी, स्याङजा, कास्की, बागलुङ, पर्वत,म्याग्दी हुंदै मुस्ताङसम्मका जिल्ला र चीनको तिब्बतसँग जोडिएको कोरला नाकालाई समेट्ने भएको हो।
जसले गर्दा चिनिया पर्यटकलाई तिब्बत हुँदै लुम्बिनी आकर्षित गर्न सकिने र लुम्बिनी आउने पर्यटकलाई कोरिडोरमा पर्ने जिल्लाका पर्यटकीय स्थलमा भ्रमण गराई लुम्बिनी र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न सकिने कोरिडोरको अवधारणा छ।
कोरिडोरको विकास गर्न सके कोरलादेखि लुम्बिनीसम्मको सडक यात्रा ५ घण्टाको हुनेछ।
नेपालका लागि पर्यटन नै सबैभन्दा बढी तुलनात्मक लाभको क्षेत्र भएको र लुम्बिनी–कोरला कोरिडोर यसमा कोशेढुंगा हुन सक्ने देखेर यो योजना अघी बढाइएको बताइएको छ।
उक्त अवधारणाले मूर्त रुप लिँदा कोरिडोरमा हरेक वर्ष कम्तीमा १० लाख पर्यटकलाई २० दिनसम्म भुलाउन सकिने छ। कोरिडोर बनेमा बुद्ध जन्मस्थल लुम्बिनीमा तीब्बतका ८० लाख बौद्धमार्गीलाई सजिलै आकर्षित गर्न सकिने बताइएको छ।
कोरिडोर अन्तर्गत सडकको स्तरोन्नतिसँगै ठाउँठाउँमा ट्रेकिङ रुट, रक क्लाइम्बिङ, जल यातायात, वाटर पार्क, पर्यटकीय रेष्टुरेण्ट, रिसोर्ट, बोटिङ प्वाइन्ट, क्युरिओ सप, फन पार्क, फिसिङ यार्ड जस्ता पुर्वाधारहरु बनाएर पर्यटक भुलाउन सकिने संभावना औंल्याइएको छ।