काठमाडौं। राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाका कारण डुबानमा पर्ने घरगोठको मूल्यसूची सार्वजनिक गर्न माग गरिएको छ।
धादिङ र गोरखाका जनप्रतिनिधिले बुधबार आयोजना मुआब्जा वितरण पुनर्बास तथा पुनस्र्थापना इकाईलाई ध्यानाकर्षण पत्र बुझाउँदै डुबान क्षेत्रका घरगोठ र बोटविरुवाको मूल्यसूची सार्वजनिक गर्न माग गरेका हुन्।
जनप्रतिनिधिले मूल्य निर्धारण गर्नुअघि दररेट सार्वजनिक गर्नुपर्ने, धादिङ र गोरखाको मुआब्जा समान कायम गर्नुपर्ने, छुट भएका भौतिक संरचनाको पुनःसर्वेक्षण गर्नुपर्ने माग राखेका छन्।
आयोजनाको मोडालिटी तयार गरी निर्माण कार्य अगाडि बढाउनुपर्ने, सुकुम्बासीहरुको बसोबासको उचित व्यवस्था गरिनुपर्ने, वातावरणीय प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, डुबान क्षेत्रमा दर्ता भई संचालनमा रहेका फर्महरुको उचित सम्वोधन गर्नुपर्ने समेत उनीहरुको माग छ।
जनप्रतिनिधिसहित २२ जनाद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा घरगोठको मुआब्जा वितरण गर्नुअघि वातावरणीय प्रतिवेदनको आधारमा पुनर्वासको व्यवस्था हुनुपर्ने, विद्यालय, मठ मन्दिर, स्वास्थ्य संस्थाको उचित व्यवस्था हुनुपर्ने लगायत १९ बुँदे माग राखिएका छन्।
पत्र इकाइ प्रमखु कृष्णबहादुर कार्कीलाई बुझाइएको छ।