जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकामा निर्माणाधीन धनुष आकारको सहिद गेट निर्माणको काम अन्तिम चरणमा पुगेको छ। मधेश प्रदेशको जनकपुरधाम प्रवेशद्वार मुजेलियामा निर्माणाधीन गेटको ९० प्रतिशत काम पूरा भएको हो।
ढल्केवर–जनकपुर ६ लेन सडकको मुजेलियामा निर्माणाधिन मधेश सहिद गेटमा रङ्ग लगाउने, भगवान् राम र सहिदको प्रतिमा स्थापनाको काम बाहेक सम्पूर्ण कार्य सकिएको उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनीयर वीरेन्द्रकुमार यादवले बताए। जनकपुरधाम उपमहानगरपालिकाको करिब चार करोडको लागतमा निर्माण भइरहेको सहिद गेट केही दिनभित्रै सम्पन्न हुने बताइएको छ।
धार्मिक पर्यटकीय नगरीका रुपमा परिचिति मधेश प्रदेशको राजधानी जनकपुरधाममा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धार्मिक, राजनीतिक र सांस्कृतिक पहिचान झल्किने गरी उपमहानगरपालिकाले धनुष आकारको सहिद गेट निर्माण गर्न लागेको छ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले कार्यपालिकाको पहिलो बैठकबाट मधेस आन्दोलनका सहिदको सम्मानमा नगरको प्रवेशद्वारमा धनुष आकारको सहिद गेट निर्माण गर्ने निर्णय गरेका थिए। त्यही निर्णयका आधारमा २०७७ असार २० गते नगरप्रमुख साहले सो सहिद गेटको शिलान्यास गरेका थिए।
जनकपुरधाम उपमहानगरपालिकासँग सम्झौता गरी २०७७ असार २० गतेबाट काम सुरु गरेको निर्माण कम्पनीले २०७८ पुस मसान्तसम्ममा गेट निर्माण गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको थियो। त्यही सम्झौताअनुसार नै काम सम्पन्न गर्ने योजनाअनुरुप कामलाई तीव्रता दिएको निर्माण कम्पनी गौरी पार्वती स्याब जेभीका साइड इञ्जिनियर अमरकुमार साहले जानकारी दिए।
ठेक्का अवधिभन्दा अगाडि नै गेटको निर्माण कार्य सम्पन्न गरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम अघि बढाए पनि पनि कोभिड– १९ सङ्क्रमणका कारण केही ढिलाइ भएको इन्जिनियर साहले बताए।