काठमाडौं। नेपाल र भारतका सीमा अधिकारीहरुबीच बैठक भएको छ। दार्चुला जिल्ला प्रशासन कार्यालयको आयोजनामा दार्चुला, बैतडी र भारतको पिथौरागढका अधिकारीहरुबीच शनिबार भर्चुअल माध्यमबाट बैठक सम्पन्न भएको हो।
बैठकमा नेपालले सीमा समस्यासहितका चारवटा एजेन्डा भारतसमक्ष प्रस्तुत गरेको छ । दार्चुलाका सीडीओ दीर्घराज उपाध्यायका अनुसार बैठकमा दुई मुलुकको सहमति र अन्तर्राष्ट्रिय मान्यता विपरीत दार्चुला सदरमुकाम खलंगापारी धार्चुला क्षेत्रमा भारतले निर्माण गरिरहेको पक्की तटबन्ध, नेपाल–भारत जोड्ने मोटरेवल पुल, भारतीय बजारमा नेपाली मुद्राको अवमुल्यन र सीमा पुलहरु खोल्ने विषयमा नेपालको एजेन्डा राखिएको थियो ।
भारतीय पक्षले १४ फेब्रअरीमा हुने विधानसभा निर्वाचनको सीमा सुरक्षा व्यवस्थापन, सीमा समन्वयलगायत विषयमा मुद्दा प्रस्तुत गरेको थियो ।
दार्चुला सीडीओ उपाध्यायले खंलगा पारी महाकालीको वहाब परिवर्तन हुने गरेर भारतले निर्माण गरिरहेको तटबन्धबारे आफूहरुले कुरा राखेको उनले बताए । यस बारेमा पिथौरागढ जिल्ला अधिकारीले नेपाललाई असर नपर्ने गरी तटबन्ध निर्माण गर्ने आश्वासन दिएको बताइएको छ। त्यसैगरी महाकाली नदीमा बन्ने मोटरेबल पुलको बारेमा पनि दुई पक्षबीच छलफल भएको बताइएको छ।
नेपाल र भारतबीच यसैसाता महाकाली नगरपालिकाको सुरकाडा क्षेत्रमा दुई मुलुक जोड्ने पुल बनाउनेबारे सम्झौतामा हस्ताक्षर पनि भएको छ । भारतीय लगानीमा बन्ने भनिएको उक्त पुलको निर्माण १४ फेब्रअरीमा हुने भारतीय विधानसभाको चुनाबपछि अघि बढाइने जानकारी पिथौरागढ जिल्ला अधिकारीको भनाई उध्दृत गर्दै सीडीओ उपाध्यायले बताए ।
त्यसैगरी बैठकमा नेपाल–भारत जोड्ने सीमा पुल खुल्ने समयबारेमा पनि छलफल भएको छ । सीमा पुल बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दैनिक १२ घण्टा खुल्ने भएपनि कोरोना महामारीपछि अहिले बेलुका ५ बजे नै बन्द हुने गरेको छ ।