रोल्पा। रोल्पा नगरपालिका–७ मा पर्ने निम्री सडकको अवस्था अत्यन्तै दयनीय बनेको छ। जिल्ला सदरमुकाम लिवाङलाई पश्चिम रोल्पाका आधा दर्जन स्थानीय तहका साथै रुकुमपूर्व र पश्चिम दुई जिल्लालाई समेत जोडेको यो सडकका अवस्था दिनप्रति दिन बिग्रिँदै गएको हो।
दैनिक दर्जनौँ गाडी ओहोरदोहोर गर्ने उक्त सडकमा यात्रा गर्ने यात्रुहरु कष्टपूर्ण यात्रा गर्न बाध्य हुने गरेका छन् । डेढ घण्टा लाग्ने यात्रामा साढे तीन घण्टा लाग्ने गरेको छ । बाटोको अस्तव्यस्तताले यात्रासमेत अनिश्चित हुने गरेको छ ।
अत्यावश्यक काम लिएर हिँड्ने यात्रुहरुसमेत बाटोको अवस्थाले कैयौँ अवसर गुमाउने गरेका छन् । बाटामा रहेका ठूल्ठूला खाल्डाखुल्डी, झाडी, पहिरो र साँघुरो मोडले यात्रालाई असहज बनाउने गरेका छन् । सडक स्तरोन्नतिका नाममा हरेक वर्ष करोडौँ रुपैयाँ खर्च भएको देखिने भए पनि बाटोको अवस्था भने परिवर्तन हुन सकेको छैन ।
सोही सडक भएर पश्चिम रोल्पाका थवाङ, परिवर्तन, गङ्गादेव, त्रिवेणी, रुन्टीगढी र माडी गाउँपालिकाका अध्यक्षहरु जिल्ला समन्वय समितिको बैठकमा हरेक महिना सदरमुकाम ओहोरदोहोर गर्दछन् । सोही सडक भएर धार्मिक पर्यटकीय क्षेत्र जलजला र ऐतिहासिक गाउँ थवाङ पुग्ने गरिन्छ ।
जिल्लाका सबै स्थानीय तहको विकास प्राथमिकतामा सडक सञ्जाल परे पनि वर्षौं बित्दासमेत सडकको अवस्था भने सुधार हुन नसक्नु दुःखद भएको सरोकारवालाको भनाइ छ । जिल्लाका सबै स्थानीय तहले सडक निर्माण तथा मर्मत शीर्षकमा कूल बजेटको झन्डै ६० प्रतिशत विनियोजन गर्ने गर्दछन् ।
सङ्घीय र प्रदेश सरकारले समेत जिल्लाको सडक निर्माणलाई नै प्राथमिकता दिएको देखिन्छ । विगत पाँच वर्षयता यो क्रमले निरन्तरता पाइरहे पनि जिल्लाका सडकको गुणस्तर भने परिवर्तन हुन नसकेको जिल्लावासीको गुनासो छ ।