मुगु। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा साइकल मार्ग निर्माणमा कमिसनको चलखेल भएको आरोप लगाएका छन्। साइकल मार्ग निर्माण गर्न खोलेको ठेक्कामा कमिसनको चलखेल भएको व्यवसायीहरूले आरोप लगाएका हुन्।
कमिसनको चलखेल गरी डिभिजन वन कार्यालयले ठेक्का स्वीकृत गर्न लागेको निर्माण व्यवसायीहरूले आरोप लगाएका छन्। उक्त ठेक्कामा क्याराभान थोदुङ, खड्का–निशान जेबी र लामा–हिमाल बुद्ध कम्पनीले आवेदन दिए। तर, आन्तरिक मिलोमतोमा हिमाल बुद्धको निवेदन झिक्न लगाएर क्याराभान र खड्का–निशानलाई प्रतिस्पर्धी बनाएर क्याराभानलाई ठेक्का दिन लागेको श्रोतले दावी गरेको छ।
रारामा साइकल मार्ग बनाउन कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले दिएको ४५ करोड रुपैयाँमा डिभिजन कार्यालयले ठेक्का आह्वान गरेको हो। तर, मन्त्रालयका सचिवदेखि कार्यालय प्रमुख समेतको मिलेमतो र आर्थिक चलखेलमा गलत मापदण्ड बनाएर ठेक्का सम्झौता गर्न लागेको निर्माण व्यवसायीहरूको आरोप छ। कार्यालयले १३ प्रतिशत भ्याट कटाएर ४५ करोडमा ठेक्का आह्वान गरेको थियो।
उक्त साइकल मार्ग निर्माणको लागि गत आर्थिक बर्ष ०७७/७८ मा तीन करोड बिनियोजित भएको थियो।सोही रकमबाट पनि काम नभइ कार्यालयले भुक्तानी गरेको आरोप छ। जिल्लाभित्रका कम्पनीलाई पन्छाउने गरि गतल मापदण्ड बनाएर ठेक्का सम्झौता गर्न लागेको आरोप छ। वन कार्यालयले खोलेको उक्त ठेक्कामा जिल्लाभित्रका एउटा फर्म पनि मापदण्ड भित्र नपर्ने व्यवस्था गरेको बताइएको छ। कार्यालयले खोलेको ठेक्कामा क्याराभान, लामा, हिमाल बुद्धलाई नै प्राथमिकता राखेको नागरिक अगुवाहरूको दावी छ।
सार्वजनिक खरिद ऐनमा ठेक्कापट्टामा जति धेरै कम्पनीको प्रतिस्पर्धा भयो उति धेरै राजश्व संकलन हुने र पारदर्शिता हुने भए पनि वन कार्यालयले तीन वटा मा मात्र दर्ता गराएको छ। आर्थिक चलखेलमै रारा साइकल मार्गको ठेक्का सम्झौता गर्न लागिएको निर्माण ब्यासायीको आरोप छ। उक्त ठेक्का सार्वजनिक खरिद ऐन विपरित देखिएको उनिहरु बताउछन्।
कार्यालयले ठेक्का खुलाउँदा नै २५ करोडभन्दा माथिका सडक निर्माण गरेको, २३ सय घटमिटर ढुंगा बिछ्याएको फर्मले मात्र आवेदन दिन मापदण्ड बनाएको छ। अर्कोतर्फ डीपीआरमै बजेट चार गुना बढाएर मन्त्रालयसँग माग गरी ठेक्का खोलेको आरोप छ। करिब १२ करोडमा सकिने काम ४५ करोड पुर्याएको स्थानीय व्यावसायीहरूको आरोप छ।