काठमाडौं। फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गरिएको छ। फेवातालको स्वास्थ्य, आयु वृद्धि तथा पानीको स्वच्छतामा सुधारको लागि भन्दै मन्त्रिपरिषद्को बैठकले संरक्षित जलाधार क्षेत्र घोषणा गरेको हो।
वन तथा वातावरण मन्त्रालयले जलाधार क्षेत्रको संरक्षण विनाको विकास कार्यले तालको आयु घट्दै गएको ठहर गर्दै भूक्षय तथा बाढी पहिरो जस्ता प्रकोपबाट ताललाई जोगाउन संरक्षित क्षेत्र घोषणा गरिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले फेवा तालको अस्तित्वलाई जीवित राख्न संरक्षित क्षेत्र घोषणा गरिएको बताए ।
उनले भने, “फेवाताल पर्यटकीय, वातावरणीय तथा ऐतिहासिक रुपमा महत्वपूर्ण क्षेत्र हो, यसको संरक्षणलाई महत्वका साथ अगाडि बढाउन नसकेमा फेवाको आयु नै घट्ने छ । एक दिन फेवातालको अस्तित्व नै समाप्त हुन सक्ने छ। संरक्षित क्षेत्र घोषणा गरेपछि फेवाको संरक्षण हुने छ र यसको अस्तित्व बचिराख्ने छ।”
ताललाई लक्षित गरेर अहिलेसम्म कुनै संरक्षित जलाधार समितिको पहिलो पटक व्यवस्था गरिएको भन्दै उनले समितिमार्फत पनि संरक्षणका गतिविधि अगाडि बढ्ने बताए ।
पोखरा महानगरपालिका वडा नम्बर ६, १७, १८, २२, २३ र २४ र अन्नपूर्ण गाउँपालिकाका १, २ र ३ नम्बर वडा फेवा जलाधार क्षेत्रमा पर्छन् ।